गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका उम्मेदवारहरुले पनि आ–आफ्ना प्रतिवद्धता सार्वजनिक गरेका थिए । हेटौंडा उपमहानगरपालिकाको मेयर तथा उपमेयरमा सत्ता गठबन्धनमा सहभागी दल तथा नेकपा एमालेबीच प्रतिस्पर्धाको अवस्था थियो । निर्वाचनपछि उपमहानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीककृत समाजवादी, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भयो । सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी उम्मेदवार मीनाकुमारी लामा मेयर र नेपाली कांग्रेसका राजेश बानियाँ उपमेयरमा निर्वाचित भए । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी घोषणाका क्रममा सार्वजनिक गरिएका प्रतिवद्धतापत्रमा निर्वाचनमा विजयी भएमा हेटौंडा नगरबासीलाई मासिक २५ युनिट विद्युत् र १० हजार लिटर खानेपानी निःशुल्क उपलब्ध गराउने उल्लेख थियो ।

उल्लेखित प्रतिवद्धताबमोजिम हेटौंडा उपमहानगरपालिकाले एउटा प्रतिवद्धता पूरा गरेको छ । उपमहानगरपालिकाले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डअन्तर्गत्का सबै ग्राहकलाई खानेपानीको न्यूनतम महसुल छुट दिने भएको छ । हेटौंडा उपमहानगरपालिकाकी मेयर लामा, उपमेयर बानियाँसहित वडा अध्यक्ष र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका पदाधिकारीबीच बिहीबार सहमति भएको छ । हेटौंडा उपमहानगरपालिकाको सभाकक्षमा अन्तरक्रियापछि बोर्डका सबै ग्राहकलाई न्यूनतम् महसुलमा छुट दिने निर्णय गरिएको र त्यसको व्ययभार हेटौंडा उपमहानगरपालिकाले बेहोर्ने सहमति भएको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठकले निर्णय गरेपछि यो सहमति लागू हुनेछ ।

निर्वाचनको क्रममा गरिएको खानेपानी निःशुल्क उपलब्ध गराउने प्रतिवद्धताबमोजिम न्यूनतम् महसुल मिनाहा गर्ने निर्णय गरिएको हेटौंडा उपमहानगरपालिकाकी मेयर लामाको भनाई छ । हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र खानेपानी व्यवस्थापन बोर्डमार्फत् करिब २३ हजार खानेपानी धारा जडान भएका छन् । यसका लागि आवश्यक पर्ने वार्षिक २ करोड ३९ लाख रुपैयाँ खर्चका लागि उपमहानगरपालिकाले बजेट छुट्याउने भएको छ । उपमहानगरभित्र उपभोक्ता समितिमार्फत् खानेपानी उपभोग गरिरहेकाहरुको हकमा उपमहानगरपालिकाले केही समयपछि निर्णय गर्ने जनाइएको छ । उपमहानगरको यो निर्णयले बोर्डमा आवद्ध नभएका खानेपानी उपभोक्ता समितिहरु पनि बोर्डमा आवद्ध हुन प्रेरित गर्ने सम्भावना देखिएको छ ।

आवधिक निर्वाचनलाई आम नागरिकले आफ्नो जनप्रतिनिधि छान्ने एउटा अवसरको रुपमा लिइन्छ । हरेक निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारहरुले निर्वाचनमा आफूले जितेमा गर्ने कार्ययोजना सार्वजनिक गर्दछन् । उम्मेदवारले मतदातालाई आकर्षित गर्न आफू विजयी भएमा यसो गर्छु, उसो गर्छु भनेर प्रतिवद्धता जाहेर गर्दछन्, जसलाई घोषणापत्र पनि भनिन्छ । सामान्यतया उम्मेदवारले जितेमा आफ्नो घोषणापत्रअनुसार काम गर्दछन् भन्ने मान्यतामा आम नागरिकले आफ्नो मत जाहेर गर्दछन् । तर, विगतका अभ्यासलाई हेर्दा घोषणापत्र केबल चुनावमा भोट माग्ने माध्यममात्र बनाइएको दृष्टान्त प्रशस्तै छन् । राजनीतिक दल तथा उम्मेदवारले चुनावमा जितेपछि आफ्ना प्रतिवद्धतालाई पूर्णरुपमा बेवास्ता गर्ने परिपाटीलाई हेटौंडा उपमहानगरका जनप्रतिनिधिले क्रमभंग गरेका छन् । अब बाँकी प्रतिवद्धतालाई पनि यसैगरी कार्यान्वयनमा लैजानसकेमा दल तथा उम्मेदवारको घोषणापत्रप्रति मतदाताको विश्वास बढ्ने देखिन्छ ।