चोरीको सामान नियन्त्रणमा लिँदै प्रहरी ।

हेटौंडाः मकवानपुर प्रहरीले हेटौंडा–१२ स्थित सिग्रेनीका विभिन्न घर तथा पसलबाट सामान चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भई हाल हेटौंडा–१२ सिग्रेनीमा बस्दै आएका २४ वर्षीय जय प्रकाश साह र पर्सा जिल्ला घर भई हाल हेटौंडा–१२, सिग्रेनीमा बस्दै आएकी २५ वर्षीय सपना चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

सिग्रेनीमा होटल संचालन गर्दै आइरहेका उनीहरू विगतका दिनमा चोरीमा संलग्न भएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट कस्मेटीक सामान, खाद्यान्न, भाँडाकुडा, कपडा, रक्सी लगायतका चोरीका सामान फेला पारेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता कार्कीले बताउनुभयो ।