हेटौंडाः मकवानपुरमा पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढ्दै गएकोे देखिएको छ । मकवानपुरमा गत आर्थिक वर्ष २०७८/७९ मा १ सय २५ जनाले आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा ९० जनाले झुन्डिएर आत्महत्या गरेका छन् । गत आर्थिक वर्षमा सात जना बालिका, चार जना बालक, ५४ जना पुरुष र २५ जना महिलाले झुन्डिएर आत्महत्या गरेका हुन् । विष सेवन गरेर १८ जना पुरुष, १२ जना महिला र एक जना बालक र एक जना बालिकाले आत्महत्या गरेको तथ्याङ्कमा उल्लेख छ । यस्तै, पानीमा हाम फालेर एक जना पुरुष र एक जना महिलाले आत्महत्या गरेको तथ्याङ्कमा उल्लेख छ । आगो लगाएर एक जना पुरुषले आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले आत्महत्यालाई न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो । मकवानपुरमा आत्महत्या न्यूनीकरण गर्न सबै स्थानीय तह, वडा र सरोकारवाला निकाय सबैले समन्वय गरेर सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । सबै सरोकारवाला निकायहरुले चासो लिएर विद्यालय, कलेजका विद्यार्थीहरुमा यस्ता खालका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो ।
प्रहरीले सामुदायिक साझेदारी कार्यक्रमअन्तर्गत् आत्महत्या न्यूनीकरण, लागूऔषध नियन्त्रण, महिलामाथि हुने घरेलु हिंसाविरुद्ध सचेतना कार्यक्रमहरु गर्दै आएता पनि कोभिडपछि भने यी कार्यक्रमहरु कम सञ्चालन भएको उहाँले बताउनुभयो । प्रहरी प्रवक्ता कार्कीले लागूऔषध दुव्र्यसनमा फसेका मानिसहरु, गरिबी, बेरोजगारी, घरेलु हिंसामा पीडित भएकाहरु आत्महत्या गर्न अग्रसर हुनसक्ने बताउनुभयो । उहाँले घरेलु हिंसा भएमा प्रहरीमा सम्पर्क गरेर आफ्नो समस्या राखेर आवश्यक परापर्श लिन सकिने बताउनुभयो ।