म्याट हस्तान्तरण गर्दै मेयर मिना कुमारी लामा ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले जिल्ला तेक्वान्दो कार्यसमिति मकवानपुरलाई खेल सामग्री उपलब्ध गराएको छ । हेटौंडा—४ कर्रास्थित कर्भड हलमा शनिबार भएको एक कार्यक्रम बीच हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले जिल्ला तेक्वान्दो कार्यसमिति मकवानपुरका अध्यक्ष लालकाजी बज्राचार्यलाई ६४ पिस म्याट हस्तान्तरण गर्नुभएको छ ।

उपमहानगरपालिकाले १ लाख २० हजार रुपैयाँ रकमको ६४ पिस म्याट सहयोग गरेको अध्यक्ष बज्राचार्यले जानकारी दिनुभयो । म्याट हस्तान्तरण गर्नुहुँदै मेयर मिना कुमारी लामाले खेलले युवाहरुलाई लागुऔषध दुर्व्यसन तथा अन्य विकृतीबाट बचाउने बताउनुभयो । उहाँले मकवानपुर जिल्लालाई तेक्वान्दोले पनि पहिचान बनाउनेमा आफु विश्वस्त रहेको बताउनुभयो । आगामी दिनहरुमा तेक्वान्दोका लागि आवश्यक पर्ने सहयोग गर्न आफु सँधै तयार रहेको मेयर लामाले जानकारी गराउनुभयो ।

म्याट प्राप्त भएपछि खेलाडीहरुलाई सुरक्षित रुपमा नियमित प्रशिक्षण गर्न सकिने अध्यक्ष बज्राचार्यको भनाई छ । उहाँले अहिले मकवानपुरमा फुटबलपछिको दोस्रो खेलको रुपमा तेक्वान्दोलाई लिन सकिने भन्दै जिल्लामा खेलाडीहरु धेरै उत्पादन भईसकेको बताउनुभयो । मकवानपुरमा अहिले २ हजारको संख्यामा तेक्वान्दोका खेलाडी रहेका उहाँले जानकारी दिनुभयो । जिल्ला तेक्वान्दो संघको कभर्ड हलमा अहिले दैनिक ६० जनाको संख्यामा खेलाडीहरु नियमित प्रशिक्षणमा आउने गरेका छन् । शनिबार तेक्वान्दो खेलाडीहरु हेटौंडा—४ स्थित हुप्रचौर सरसफाई कार्यक्रममा सहभागी भएका थिए । सरसफाइ कार्यक्रममा तेक्वान्दोका ७० जना खेलाडी सहभागी भएका थिए ।

म्याट हस्तान्तरण कार्यक्रममा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्की, नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही र मकवानपुर तेक्वान्दोका संस्थापक प्रशिक्षक दिलिप राजथलाको आतिथ्यता रहेको थियो ।