हेटौंडाः बागमती प्रदेश सभाको आज बसेको बैठकमा विभुषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई अनुमति माग्ने प्रस्तावमाथि प्रदेश सभा सदस्य रमेश पौडेलले सूचना दर्ता गर्नुभएको छ । प्रदेश सरकारले वितरण गर्ने सम्मान र पदक फजुल खर्च मात्रै भएको भन्दै उहाँले सूचना दर्ता गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “प्रदेशको काम र भूमिकाको विषयमा सर्वसाधारणसँग प्रशस्त प्रश्न छन् । त्यसको जवाफ प्रदेश सरकारले दिन सकेको छैन । विवाद आईरहेको अवस्थामा प्रदेश सरकार सम्मान गर्न सक्ने अवस्थामा छैन ।” प्रदेशले सम्मान पाउने गरी काम गर्न बाँकी रहेको भन्दै प्रदेश सरकारले प्राथमिकताको विषयमा काम गर्न नसकेको उहाँले आरोप लगाउनुभयो । मूल कानून ल्याउनु पर्ने समयमा अध्यादेश मात्रै आईरहेको भन्दै उहाँले प्रदेश सक्षम हुँदै गएको खण्डमा यस्ता सम्मान गर्न सकिने धारणा राख्नुभयो । वर्तमान परिस्थितिमा सम्मान र पदकलाई निरन्तरता नदिन आग्रह गर्नुभएको छ । प्रदेश सभा सदस्य रमेश पौडेलको प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण प्रसाद खनालले संघीयताको ईतिहास लामो नभएको भन्दै प्रदेश कस्तो बनाउने ?, कस्तो काम गर्ने भन्ने विषय सबैको दायित्व रहेको बताउनुभयो ।
उहाँले प्रदेशको आवश्यकता, महत्व कसरी दर्साउने ?, उत्प्रेरणा जागरुकता कसरी ल्याउने ? भन्ने विषयमा सरकारले ध्यान दिनु पर्ने बताउनुभयो । प्रदेशका जनता सम्मानित हुँदा प्रदेश पनि सम्मानित हुन्छ भन्ने लागेर यो कार्यक्रम अगाडी सारिएको स्पष्ट पार्नुभयो । सम्मान दिँदा सम्मान पाईने भन्दै उहाँले समाजमा उल्लेखीय काम गरेबापत सम्मानित गरिएको जानकारी दिनुभयो । प्रदेश सभा सदस्य रमेश पौडेलले प्रदेश सभामा दर्ता गर्नुभएको विरोधको सूचना बहुमतले अस्वीकृत गरेको छ ।