जेसीज सप्ताहको विषयमा जानकारी गराउँदै ।

हेटौंडाः जेसीआई बसामाडीको ‘जेसीज सप्ताह २०२२’ आइतबारबाट सुरु हुँदैछ । बसामाडी जेसीजले बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गरेर आइतबारबाट शनिबारसम्म जेसीज सप्ताह हुने जानकारी दिएको छ ।

जेसीज सप्ताह वर्ष २०२२ का अध्यक्ष चिराग अग्रवालले जेसीजले हरेक वर्ष महान पर्वको रुपमा जेसीज सप्ताह कार्यक्रम गर्दै आएको बताउनुभयो । जेसीजले समाजको विभिन्न वर्ग तथा क्षेत्रहरुमा काम गर्दै आएको उहाँले बताउनुभयो । जेसीजले युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने कार्यमा हरेक वर्ष कार्यक्रमहरुको आयोजना गर्दै आएको उहाँले बताउनुभयो । जेसीज सप्ताह वर्ष २०२२ का कार्यकारी उपाध्यक्ष सुरज डंगोलको संयोजकत्वमा कार्यक्रम हुने भएको छ । कार्यक्रमको उद्घाटनको दिन आइतबार हेटौंडा–२ स्थित वनस्खण्डी मन्दिरमा सहयोग गर्ने कार्यक्रम रहेको छ ।

यस्तैै सोमबार हेटौंडा–२ स्थित हाम्रो घरमा जेसीजकोे सहयोग हात कार्यक्रम, मंगलबार अन्तर जेसिज फुटसल प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ । फुटसलमा जिल्लामा रहेका ६ वटा जेसीज शाखाहरुको सहभागी हुनेछन् । यस्तै बुधबार हेटौंडा–७ स्थित आशा स्कुलमा जेसीज युवा कार्यक्रम गर्ने, बिहीबार भीमफेदी गाउँपालिकास्थित बाल मन्दिरमा बालबालिकासँग जेसीज कार्यक्रम गर्ने, शुक्रबार बसामाडीस्थित महेन्द्र किरण माविमा लागुऔषध दुर्व्यसन विरुद्धको सचेतना कार्यक्रम गर्ने र शनिबार जेसीज सप्ताहको समापन तथा पुरस्कार वितरण कार्यक्रम हुने जनाइएको छ ।