श्रद्धाञ्जलीसभा तथा रचना वाचन कार्यक्रममा रचना वाचन गर्दै ।

हेटौंडाः सिस्नुपानी नेपाल मकवानपुरले साहित्यकार स्वर्गीय डा. गणेश कुमार पौडेलको शोकमा शनिबार श्रद्धाञ्जलीसभा तथा रचना वाचन कार्यक्रम गरेको छ । सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको सभाध्यक्ष तथा हास्यव्यङ्यकार आरसी रिजालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

प्रमुख अतिथि रिजालले स्व. डा. गणेश कुमार पौडेल हास्यव्यङ्य सम्मान आगामी बर्षबाट प्रदान गरिने बताउनुभयो । स्व. डा. पौडेलका परिवारबाट प्राप्त जानकारीबाट उक्त सम्मान प्रदान गरिने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा उहाँले स्व. डा. पौडेलका कृतिबाट भ्रष्टेश्वर महादेव व्यङ्ग्य संग्रहबाट भ्रष्टेश्वर शिर्षकमा कविता वाचन गर्नुभयो । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले स्व. डा. पौडेलको कृतिबाट २ वटा रचना वाचन गर्नुभएको थियो । यसैगरी गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणले “हाम्रो मन्त्री जनमुखी हुन्छ !” भन्ने शिर्षकमा रचना वाचन गर्नुभएको थियो ।

२००६ साल असार ६ गते जन्मनुभएका स्व. डा पौडेल सिस्नुपानी नेपाल मकवानपुरका निवर्तमान अध्यक्ष तथा सल्लाहकार समेत हुनुहुन्थ्यो । लामो समयदेखि कलेजोको क्यान्सरबाट पिडित पौडल २०७९ असार ७ गते देहावसान हुनुभएको थियो । कार्यक्रममा स्वर्गीय डा. पौडेलको सम्झनामा उहाँको प्रकाशित कृतिहरुबाट साहित्यकारहरुले डेढ दर्जनभन्दा बढी रचनाहरु वाचन गरेका थिए ।

कार्यक्रममा भीमविराग साहित्य कला प्रतिष्ठानका अध्यक्ष हयग्रीव आचार्य, सुदर्शन अधिकारी, माधव भण्डारी, प्रलेसका अध्यक्ष श्रीराम अधिकारी, नेपाली लेखक संघका अध्यक्ष छवि अनित्य, मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डीबी बर्तौला, प्रलेस केन्द्रीय सदस्य मसान उपासक, आँचल साहित्य कला पुञ्चकी अध्यक्ष भावना सापकोटा, मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष माधव पोखरेल लगायतको उपस्थिति थियो ।