बालश्रम अन्त्यका लागि विशेष पहल कदमीका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई ध्यानाकर्षणपत्र बुझाइएको हो । राष्ट्रिय बाल संरक्षण सञ्जाल नेपाल, स्वतन्त्रता अभियान र बाल कल्याण समाज मकवानपुरले ७ बुँदे माग सहित मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । प्रदेशस्तरीय बालश्रम निवारण नीति तथा कार्ययोजना निर्माण र कार्यान्वयनमा जोड दिन ज्ञापनपत्रमा माग गरिएको छ । बागमती प्रदेश बालअधिकार समितिअन्तर्गत् बालश्रम निवारण कार्यदल वा उपसमिति गठन गर्ने र बालबालिका हेर्ने मन्त्रालयअन्तर्गत् बाल संरक्षण तथा बालश्रम निवारण शाखा स्थापना गरी सञ्चालन गर्नुपर्ने माग गरिएको छ । बालश्रम गराउनु हुँदैन भन्ने जानकारी सबैलाई छ । तर व्यवहार उल्टो हुँदैगर्दा गैरसरकारी संघसंस्थाले काम पाएका छन् ।
बालअधिकारको क्षेत्रमा काम गर्ने संस्थाले आफ्नो मुख्य उद्देश्यमा अधिकारका कुरा राखिएको पाइन्छ । उद्देश्य पूरा गर्ने नाममा सहयोग लिने तथा केही मानिसले रोजगारी पाउने गरेका छन् । संस्थाहरुले केही काम गरेको प्रतिवेदन बनाउनु आवश्यक हुन्छ । यसका लागि प्रत्येक वर्ष तालिका बनाएरै ज्ञापनपत्र दिनेदेखि दवावमूलक कार्यक्रम गर्ने गरेका छन् । सम्बन्धित निकायहरुले पनि आफ्नो शैली छाडेका हुँदैनन् भने बालश्रमिकहरुको अवस्थामा परिवर्तन आउने कुरै हुँदैन । गर्नु पर्दछ र गर्दछौं भन्नेहरुले किन बालश्रमको अन्त्यका लागि ठोस पहल नगरेका भन्ने प्रश्नको उत्तर नै छैन । यदि बालश्रम अन्त्य भए संस्थाहरुका गतिविधि के हुने भन्ने प्रश्न हुन्छ । ज्ञापनपत्र बुझाउने र बुझ्ने नियमित कार्यक्रममात्र बन्ने गरेको छ ।
राज्यकै तर्फबाट बालश्रमिकहरुको उद्दार तथा संरक्षण गरिनु पर्दछ । यो काममा नागरिक समाजदेखि संस्थाहरुले सहकार्य गर्नु आवश्यक हुन्छ । श्रम क्षेत्रमा लागेका बालबालिकाको हकअधिकार सुनिश्चित गर्ने दायित्व राज्यको हो । यही कुरा बारम्बार उठाउनका लागि गैरसरकारी संस्थाहरु लागी रहेका हुन्छन्, तर बीसको उन्नाईस भएको हुँदैन । बरु प्रत्येक वर्ष नयाँ समस्या श्रृजना हुने गर्दछ । आफ्ना नारा, योजना र कार्यक्रमलाई निरन्तरताका लागि मात्रै काम भएको त हैन भन्ने आशंका पनि छ । बालअधिकारको क्षेत्रमा क्रियाशील संस्थाहरुको संख्या ठूलो छ । उनीहरुले परिचालन गर्ने पुँजी पनि त्यही अनुरुपको छ, तर किन बालश्रमिकहरुको संरक्षण हुन सकेको छैन ? रोजगारीका लागि मात्र प्रतिवेदन आउने हुन् वा अवस्था पनि त्यस्तै छ ?
सानै उमेरमा किन श्रमबजारमा जान बाध्य भएका छन् बालबालिकाहरु भन्ने कोणबाट अध्ययन हुनु पर्दछ । बालश्रमको अन्त्य गर्ने नै हो भने कारण पत्ता लगाउने र परिवारलाई आयआर्जनमा जोड्नु पर्दछ । बालश्रमिक छन् भनेरमात्र हुँदैन । उनीहरुलाई पुनःस्थापना गर्दै गर्दा परिवारमा आउने आर्थिक संकटतर्फ कार्यक्रम र योजनाहरु परिलक्षित हुन जरुरी छ । बालश्रमिकाको उद्दार गर्ने र परिवारमा मिलन गराउँदैमा अभियान सफल हुन सक्दैन । जुन कारणले बालश्रम भइरहेको छ, त्यसको मुल समस्या पत्ता लगाई निवारण त्यहीँबाट सुरुवात गरिनु पर्दछ । नत्र आरोप लागेजस्तै आफ्नो रोजीरोटीका लागि संस्थाहरुले नै बालश्रमको तथ्यांक संकलन र प्रसारण गर्ने, तर निकास नदिने अवस्था यथावत रहनेछ । प्रत्येक वर्ष ज्ञापनपत्र बुझाउने कार्यक्रम बन्द गरेर समस्याको समाधान केन्द्रित कार्यक्रम ल्याउनु जरुरी छ ।