शिक्षकलाई ल्यापटप वितरण गरिँदै ।

हेटौंडाः हेटौंडा–१७, हटियास्थित बालबोध माध्यमिक विद्यालयका शिक्षक, कर्मचारीलाई ल्यापटप वितरण गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयका शिक्षक तथा कर्मचारीलाई बुधबार ८ वटा ल्यापटप वितरण गरिएको बालबोध माविका प्रधानाध्यापक रमेश रिजालले जानकारी दिनुभयो । तेस्रो चरणमा ८ जना शिक्षक तथा कर्मचारीलाई ६ लाख ५० हजार रुपैयाँ बराबरको ल्यापटप वितरण गरिएको प्रधानाध्यापक रिजालले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल बहादुर विष्टको सभाध्यक्ष तथा वडाध्यक्ष उद्धव सत्यालको प्रमुख आतिथ्यमा ल्यापटप वितरण कार्यक्रम भएको हो । एक शिक्षक एक ल्यापटप अभियानका साथ पहिलो, दोस्रो र तेस्रो चरण गरी सवै शिक्षक, कर्मचारीलाई ल्यापटप वितरण गरिएको छ । पहिलो चरणमा प्रदेश सरकारबाट प्राप्त बजेटले १० जना शिक्षक, कर्मचारीलाई ल्यापटप वितरण गरिएको थियो । दोस्रो चरणमा स्थानीय सरकारले ५ जना शिक्षक, कर्मचारीलाई ल्यापटप वितरण गरेको थियो ।

बालबोध माविका २७ जना शिक्षक तथा कर्मचारी मध्ये शिक्षणका लागि प्रविधिको प्रयोग गर्ने २३ जना शिक्षक, कर्मचारीलाई ल्यापटप वितरण गरिएको बताइएको छ । विद्यार्थीलाई पढाउने क्रममा सूचना प्रविधिकको प्रयोगले सिकाईमा प्रभावकारिता बढाउन सकिने प्रधानाध्यापक रिजालले विश्वास व्यक्त गर्नुभयो । १२ कक्षासम्म पठनपाठन हुने बालबोध माविमा ५ सय विद्यार्थी अध्ययनरत् छन् ।