काठमाडौंसम्म जाने खर्च हस्तान्तरण गरिँदै ।

हेटौंडाः घरमा खेल्दै गर्दा चिम्टाले घोचेर मकवानपुरगढी गाउँपालिका–१ को एक शिशुको एउटा आँखा फुटेको छ । सोमबार घरमै खेल्ने क्रममा उत्तम ब्लोन र बिनु स्याङ्तानको आठ महिने छोराको आँखा फुटेपछि उपचारका लागि हेटौंडा सामुदायिक आँखा अस्पताल पुर्याइए पनि उपचार सम्भव भएन । शिशुलाई काठमाडौं लैजानुपर्ने भयो । काठमाडौंसम्म पुग्ने खर्च समेत नभएको भनी गुनासो गरेपछि हेटौंडा सामुदायिक आँखा अस्पतालमा उपचारका लागि पुगेकाहरुले सहयोग गरेका छन् ।

आँखा अस्पतालमा उपचारका लागि पुग्नु भएकी उर्मिला कार्कीका अनुसार आर्थिक अवस्था कमजोर भएकै कारण शिशुको उपचारमा समस्या भएपछि अस्पतालमै उपचारका लागि जम्मा भएकाहरुले करिब १० हजार रुपैयाँ उठाएर काठमाडौं पठाइएको छ । काठमाडौंमा उपचारका क्रममा स्रोत अभाव भए सहयोग गरिदिन भनी मकवानपुरगढी गाउँपालिका–१ का वडा अध्यक्ष आइत सिंह लोलाई जानकारी गराइएको उहाँले बताउनुभयो । शिशुको उपचारमा आर्थिक स्रोत नै समस्या भएको पाइएकोले सहयोगका लागि आव्हान समेत गरिएको छ ।