हेटौंडाः “कोरोनाले शिक्षामा पारेको प्रभाव” विषयक स्थलगत निबन्ध प्रतियोगिता सोमबार भएको छ । हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोग तथा वनदेवी आधारभूत विद्यालयको आयोजनामा भएको प्रतियोगितामा तासिर इङ्लिस बोर्डिङ स्कुलकी सिमोन भट्टराई प्रथम भएकी छिन् ।
वनदेवी आधारभुत विद्यालयकी उर्जना घले द्धितीय, नवज्योति माध्यमिक विद्यालयकी प्रमिला थिङ तृतीय, माउन्ट एभरेष्ट इङ्लिस बोर्डिङ स्कुलकी नितिशा बराल र चन्द्रोदय माध्यमिक विद्यालयकी विशाका देउलाले सान्त्वना भएका छन् । कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुन सफल विद्यार्थीहरूले क्रमशः ६ हजार, ४ हजार, २ हजार र १ हजार ५ सय रुपैयाँ नगद राशी सहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७, ८, १४ र १५ को सामुदायिक तथा संस्थागत गरी १६ वटा विद्यालयका आधारभूत तह (६–८) का विद्यार्थीहरू सहभागी भएका थिए । कार्यक्रममा सहभागी सबै विद्यार्थीहरूले यातायात खर्चबापत ५ सय रुपैयाँ, स्टेशनरी सामग्री र सहभागीको प्रमाणपत्र प्राप्त प्रदान गरिएको सहायक प्रधानाध्यापक कुमार रुम्बाले जानकारी दिनुभयो ।
कार्यक्रम शिक्षा विकास महाशाखाका प्रमुख गंगाधर रिमालको प्रमुख आतिथ्यता, हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष सुनिल मोक्तानको विशिष्ट आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जयप्रसाद पोखरेलको स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रम वनदेवी आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर घिमिरेको अध्यक्षतामा भएको हो ।











