Home खेलकुद नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न

नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न

हेटौंडाः हेटौंडा उपमहानगरपालिका नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिता शनिबार सम्पन्न भएको छ । हेटौंडा–४ स्थित हुप्रचौरमा शुक्रबारबाट सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएसँगै जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड खेल्ने खेलाडीहरुको टुङ्गो लागेको छ ।

प्रतियोगिताअन्तर्गत शुक्रबार र शनिबार कबड्डी, भलिबल र एथलेटिक्सका खेलहरु सम्पन्न भएको छ । भलिबल प्रतियोगिताअन्तर्गत् छात्रतर्फ अरनिको मावि प्रथम हुँदै जिल्लास्तरीय प्रतियोगितामा छनौट भएको छ । अरनिकोले फाइनलमा जनप्रिय माविलाई पराजित गरेको हो । छात्रातर्फ बालबोध माविले माउन्ट एभरेष्टलाई हराएको छ । यस्तै कबड्डीअन्तर्गत् छात्रतर्फ जनप्रिय मावि र छात्रातर्फ चन्द्रोदय मावि छनौट भएको छ । जनप्रियले प्रगति माविलाई र चन्द्रोदयले भृकुटी माविलाई पराजित गरेको हो ।

एथलेटिक्सअन्तर्गत् छात्रतर्फ १ सय मिटर दौडमा महेन्द्र किरण माविका आयुष राई र छात्रातर्फ बालबोध माविकी करुणा पाख्रिन प्रथम हुँदै जिल्लास्तरीय प्रतियोगिताका लागि छनौट भएका छन् । २ सय मिटर दौडतर्र्फ जनप्रिय माविका जिकेश सापकोटा र बालबोध माविका करुणा पाख्रिन प्रथम भएका छन् । यस्तै, ४ सय मिटर दौडमा छात्रतर्फ जनप्रिय माविका सुजन माझी र छात्रातर्फ बालबोध माविकी प्रनिता पुडासैनी प्रथम भइन् । ८ सय मिटर दौडमा छात्रतर्फ ज्योति माविका अभिषेक रोक्का र छात्रातर्फ महेन्द्र माविकी सुशा स्याङ्तान प्रथम हुँदै जिल्लास्तरीय प्रतियोगिताका लागि छनौट भएका छन् ।
एक हजार ५ सय मिटर दौडमा छात्रतर्फ सिद्धार्थ माविका सञ्जय यादव र छात्रातर्फ गोरक्षनाथ माविकी रजिना योञ्जन प्रथम भइन् । ३ हजार मिटर दौडमा छात्रतर्फ गोरक्षनाथ माविका मोहित विश्वकर्मा र छात्रातर्फ महेन्द्र माविकी लक्ष्मी थिङ प्रथम भइन् ।

यस्तै, लङजम्पमा छात्रतर्फ माउन्ट एभरेष्टका सविन लामा र छात्रातर्फ बालबोध माविकी करुणा पाख्रिन प्रथम भएका छन् । हाइजम्पमा छात्रतर्पm भूटनदेवी माविका मोहम्मद असिम र छात्रातर्फ जनज्योति माविकी सुजिता विश्वकर्मा प्रथम भएका छन् । ट्रिपलजम्पमा छात्रतर्फ जनप्रियका जिकेश सापकोटा प्रथम भएका छन् । सटपुटमा छात्रतर्फ जनज्योति माविका रुपेश पण्डित र छात्रातर्फ त्रिभुवन माविकी जेनी विश्वकर्मा प्रथम भएका छन् । यस्तै, ज्याभलिङ थ्रोमा छात्रतर्फ बालबोध माविका सुदिप डंगोल र छात्रातर्फ त्रिभुुवन माविकी भूमिका पराजुली प्रथम भएका छन् ।

प्रतियोगितामा जनप्रिय माविले ७ स्वर्ण, बालबोध माविले छ स्वर्ण र ज्योति माविले चार स्वर्ण जितेका छन् । प्रतियोगितामा उपमहानगरपालिकाभित्रका सामुदायिक र निजी गरी २६ वटा विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रथम र द्वितीय हुन सफल खेलाडीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक राजाराम पोखरेलले जानकारी दिनुभयो । हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा आधुनिक राष्ट्रिय माविको सहजीकरणमा प्रतियोगिता भएको हो ।

Exit mobile version