हेटौंडाः उत्कृष्ट वक्तृत्वकला प्रस्तुत गर्दै भक्तपुरका प्रवेश तिमल्सिनाले ३० हजार रुपैयाँ जितेका छन् । बागमती प्रदेश युवा परिषद्को कार्यालयले आयोजना गरेको प्रदेशस्तरीय प्रतियोगिताअन्तर्गत बुधबार हेटौंडामा भएको अन्तिम चरणको प्रतिस्पर्धामा १७ प्रतिस्पर्धीलाई पछि पार्दै तिमल्सिनाले नगद ३० हजार रुपैयाँसहित पुरस्कृत भएका हुन् ।
युवा प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत ‘सिर्जनशीलता र उद्यमशीलता प्रवद्र्घनः बागमतीमा युवा सशक्तीकरण’ विषयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा धादिङकी समीक्षा अधिकारी दोस्रो हुँदै २५ हजाररुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेकी छिन् । भक्तपुरकी तृष्णा अधिकारी तेस्रो हुँदै २० हजार नगदसहित प्रमाणपत्र पाएकी छिन् भने नुवाकोटकी बिभिना अधिकारीले सान्त्वना हुँदै १० हजार रुपैयाँसहित प्रमाणपत्र पाएकी छिन् ।
पहिलो चरणमा जिल्ला तहमा प्रथम हुने महिला र पुरुष एक एक जनाले प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउने अवसर पाएका थिए । प्रतियोगितामा दीपक राज मिश्र, श्यामकुमार बानियाँ र अनिता न्यौपाने निर्णायक हुनुहुन्थ्यो भने सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल प्रमुख निर्णायक हुनुहुन्थ्यो । प्रतियोगितामा विजयीहरुलाई बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईको अध्यक्षता तथा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालको प्रमुख आतिथ्यमा पुरस्कार वितरण समारोह भएको थियो ।