हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले शरीर बन्धक गरी राखिएको व्यक्तिको सकुशल उद्दार गरेको छ । गत जेठ २९ गतेदेखि हेटौंडा १० बसपार्क स्थित ट्राभल होटल एण्ड लजको रुम नम्बर १०७ मा बन्धक बनाई राखिएको एक जना पुरुषलाई सोमबार बिहान साढे ११ बजे प्रहरीले उद्दार गरेको हो ।
होटलमा एक जनालाई बन्धक बनाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी उक्त होटल पुगेको थियो । प्रहरीले खोजी गर्दा रुम नम्बर १०७ भित्र बिरंगज महानगरपालिका वडा नम्बर १९ बस्ने २७ वर्षीय अमन कुमार श्रीवास्तवलाई बन्धक बनाई घरमा फोन सम्पर्क गर्न लगाई पैसा माग गरेको प्रहरीले जनाएको छ । बन्धक बनाई राख्ने हेटौंडा १५ बस्ने २९ वर्षीय सुरेश लामा, हेटौंडा १२ का २१ वर्षीय समिर बल र २८ वर्षीय अशोक लामालाई प्रहरीले नियन्त्रण लिएको थियो । यस्तै, प्रहरीले मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान कार्य भईरहेको जनाएको छ।