फाइल तस्विर ।

हेटौंडाः जिल्ला ट्राफिक कार्यालय मकवानपुरले मोडिफाइ(स्वरुप परिवर्तन) गरेर बाइक चलाउनेलाई कारबाही गर्न सुरु गरेको छ । मोडिफाइ गरेर ध्वनी प्रदुषण हुने गरी बजारमा ठूलो आवाजले बाइक चलाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरबाही ढङ्गले बाइक तथा अन्य सवारी साधन चलाउनेलाई धमाधम कारबाही गरिरहेको जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रमुख मुनेन्द्र थापाले जानकारी दिनुभयो ।

मकवानपुर ट्राफिकले अहिले दैनिक जसो मोडिफाइ गरी चलाउने बाइकलाई कारबाही गर्दै आएको छ । जेठ महिनादेखि असार ७ गतेसम्ममा हेटौंडा बजार क्षेत्रमा मोडिफाइ गरी बाइक चलाउने ३५ जनालाई कारबाही गरिएको प्रहरीले जनाएको छ । कारबाहीमा पर्नेमा सबै बुलेट बाइक चालक रहेको प्रमुख थापाले बताउनुभयो । कारबाहीमा परेकाहरुलाई नियन्त्रणमा लिई मोडिफाइ गरिएको बाइकको साइलेन्सर पाइप निकालिदिने र पुरानै स्वरुप बनाएर पठाउने गरिरहेकोे उहाँले बताउनुभयो । एक पटकलाई सम्झाइ बुझाई छाडेको र अब दोहोरिएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कडा कारबाही गरिने उहाँले बताउनुभयो ।

अहिले हेटौंडा बजार क्षेत्रमा युवाहरुले अत्याधिक मात्रमा बाइक मोडिफाइ गरेर चलाउने गरेको पाइएकोे थापाले बताउनुभयो । त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तिने तथा सर्बसाधारणमा अनावश्यक आवाजका कारण समस्या हुने उहाँको भनाई छ । उहाँले यसरी बाइकहरु मोडिफाइ गरेर अनावश्यक दुःख दिने काम गर्न नहुने बताउनुभयो । उहाँले बजार क्षेत्रमा मोडिफाइ गरी सवारी साधन चलाउनेलाई ट्राफिकले कडाई गरिने बताउनुभयो ।