नेकपा निकट अखिल (क्रान्तिकारी) मकवानपुरले हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामालाई ज्ञापनपत्र बुझाउँदै ।

हेटौंडाः नेकपा निकट अखिल (क्रान्तिकारी) मकवानपुरले आज बुधबार हेटौंडा उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । शिक्षा क्षेत्रमा भएको विविध समस्याहरुको समाधान गर्दै संविधानतः निःशुल्क शिक्षा लागु गर्न माग गर्दै उक्त पत्र बुझाएको हो ।

बुधबार हेटौंडा उपमहानगरपालिकामा पुगेर अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज विकेक घलान र उपाध्यक्ष सुर्य बहादुर गोलेको नेतृत्वको टिमले उक्त ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा र उप मेयर राजेश बानियाँ मार्फत् बुझाइएको हो । सामुदायिक र निजि विद्यालयको नाममा भईरहेको विभेदकारी शिक्षालाई समान शिक्षाको रुपमा लागु गर्नु राज्यको दायित्व भएता पनि राज्य सन्चालकहरुले उक्त दायित्वबोध नगरेको कुरा ज्ञापनपत्रमा उल्लेख गरिएको छ । त्यस्तै नेपालको संविधान २०७२ को भाग २ अन्तर्गत धारा ३१ को उपधारा २ मा उल्लेख गरे अनुसार आधारभूत तथा माध्यमिक तहसम्मको निःशुल्क शिक्षा लागु गर्न समेत जोड्दार माग गरेको छ । संविधानमै व्यवस्था गरेको शैक्षिक अधिकार तत्काल लागु गर्न, गराउन पहल नगरे अखिल (क्रान्तिकारी) कडा संघर्षमा उत्रिन बाध्य हुने कुरा समेत ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

साथै दिनप्रतिदिन पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि घटाउन र अन्य उपभोग्य वस्तुमा देखिएको मूल्य वृद्धिको असर न्यूनीकरण गर्न तत्काल पहल गर्न पनि ज्ञापनपत्रमार्फत् उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएको छ । यसरी अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला अध्यक्ष ललित घलानको हस्ताक्षरित ज्ञापनपत्र नगरपालिकामा बुझाएको हो ।