हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि वडागत बजेट सिलिङ तयार पारेको छ । हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडाका लागि ३६ करोड ५० लाख रुपैयाँ बजेट सिलिङ तयार गरिएको हो ।
उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ को तुलनामा आगामी आर्थिक वर्षका लागि वडागत बजेट सिलिङमा ३/३ लाख रुपैयाँ थप गरिएको हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले जानकारी दिनुभयो । गत वर्षहरुमा वडाले गरेका कार्यक्रम तथा योजनाहरुको कार्यान्वयनको आधारमा बजेट सिलिङ थप गरिएको उहाँको भनाइ छ ।
वडागत बजेट सिलिङ तोकिएसँगै वडामा योजना छनोटको कार्य भइरहेको छ । वडामा टोल विकास संस्थामार्फत प्रतिनिधित्व रहने गरी योजना छनोटको कार्य भइरहेको छ । केही वडाले भेला नै आयोजना गरेर बजेटअनुसार कार्यक्रम तयार पारिरहेको छ भने केही वडामा अझै योजना छनोटका लागि भेला हुन बाँकी छ । हेटौंडा उपमहानगरपालिकाले असार १० गते नगर परिषद् भेलाको आयोजना गरेर आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नेछ ।
वडा र विविध व्यवस्थापनका लागि वडागतरुपमा ५/५ लाख रुपैयाँको बजेट सिलिङ तयार पारिएको हेटौंडा उपमहानगरपालिकाका सूचना अधिकारी भानुभक्त थपलियाले जानकारी दिनुभयो । १९ वटै वडाका लागि वडा व्यवस्थापनतर्फ ९५ लाख रुपैयाँ र विविध व्यवस्थापनकातर्फ पनि ९५ लाख रुपैयाँको बजेट सिलिङ तयार पारिएको हो । वडा नम्बर १, १२, १३, १४ ,१५, १६ र १७ नम्बर वडामा २/२ करोड बजेट सिलिङ तोकिएको छ । यस्तै वडा नम्बर २, ४, ५, ६, ७, ८, ९, १० र ११ वडामा १ करोड ९५ लाख रुपैयाँको दरले बजेट सिलिङ तयार गरिएको छ । वडा नम्बर १८ मा २ करोड २५ लाख रुपैयाँ र वडा नम्बर १९ भने २ करोड ५० लाख रुपैयाँको बजेट सिलिङ तयार गरिएको छ ।
३८ करोड ४० लाख रुपैयाँको बजेट सिलिङ रहेकोमा ३६ करोड ५० लाख रुपैयाँको मात्र बजेट सिलिङ तयार गरिएको थपलियाले बताउनुभयो । वित्तीय समानीकरण, राजश्व बाँडफाँड संघीय सरकार, राजश्व बाँडफाँड प्रदेश सरकार र आन्तरिक स्रोतमा २५/२५ प्रतिशत बजेट सिलिङ रहेको छ । जसमा वडागतरुपमा ४६ लाख २५ हजार रुपैयाँदेखि ६५ लाख रुपैयाँको दरले बजेट सिलिङ तयार गरिएको उहाँले जानकारी दिनुभयो ।