नमुना निर्वाचनमा सहभागी विद्यार्थीहरु ।

हेटौंडाः मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर १ स्थित सूर्य माध्यमिक विद्यालय, माझगाउँमा नमुना मतदान भएको छ । विद्यालयको कक्षा ५ देखि १० सम्मको कक्षा मनिटर र सहायक मनिटर छनोटको लागि शुक्रबार विद्यालयमा मतदान भएको हो ।

निर्वाचन प्रक्रियाबाट पाँचदेखि दश कक्षासम्मका मनिटर तथा सहायक मनिटर गरी जम्मा दशजना छनोट गरेको थियो । मनिटरमा क्रमशः आशा थिङ, शिकार बोम्जन, कविता घिसिङ, रिदम मोक्तान, समिर राउत, अमर सिं घिसिङ र सहायक मनिटरमा अनुप राई, ललिता पाख्रिन, विशाल भोलन, मेरिसा राई, सुनिता मोक्तान र अनुमिका घिसिङ निर्वाचित भएका छन् । जम्मा मतदाता संख्या २ सय ७२ मध्ये २ सय ४० जनाले मतदान गरेका थिए भने तीन मत बदर भएको थियो । नेपाल सरकार निर्वाचन आयोगद्वारा गरिने निर्वाचन प्रक्रिया झैँ उक्त निर्वाचनमा आवश्यक प्रक्रिया पूरा गरी निर्वाचन सम्पन्न गरिएको छ ।

कक्षा मनिटर छनोटका लागि मतदान गर्न नमुना जिल्ला निर्वाचन आयोग गठन गरिएको थियो । आयोगले निर्वाचन सम्बन्धी कार्यक्रम तालिका सार्वजनिक, आचारसंहिता जारी, उम्मेदवारको मनोनयनदर्ता, चुनाव चिन्ह प्रदान, मतदाताहरुको नामावली प्रकाशन, मतदान केन्द्र निर्धारण, कर्मचारी नियुक्ति लगायतका प्रक्रिया पूरा गरी निर्वाचन गरेका थियो । निर्वाचन भनेको के हो ? मतदान किन गर्ने ?, कसरी गरिन्छ ? साथै मतदानको महत्व बारे जानकारी दिने उदेश्यले नमुना मतदान कार्यबाट कक्षाका मनिटर र सहायक मनिटर छानिएको प्रधानाध्यापक रत्नबहादुर राईले बताउनुभयो ।

सामाजिक विषयको पाठ्यांश पूरा गर्न, जीवनोपयोगी तथा व्यवहारिक ज्ञान दिन साथै मतदान प्रक्रियाद्वारा प्रतिनिधि छनोट गर्न सिकाउने उद्देश्यका साथ नमुना निर्वाचन संचालन गरिएको सामाजिक विषयका शिक्षक सर्वज्ञ राज खरेलले जानकारी दिनुभयो । निर्वाचनमा राईगाउँ शिव प्रहरी चौकीका सहायक हवल्दार यमबहादुर बारम, हवल्दार रमेश गुप्ता, विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो । निर्वाचनमा उम्मेदवारहरुलाई चुनाव चिन्ह हिमाल, ढाका टोपी, कम्प्युटर, घडी, लालीगुराँस लगायतका चिन्ह प्रदान गरिएको थियो ।