(कथा)
श्यामप्रसाद श्रेष्ठ
मेरो परिवारमा म, मेरो श्रीमति अनि १२ वर्षकी छोरी र १० वर्षको छोरा जो क्रिकेट भनेपछि हुरुक्क हुन्थ्यो । म आफुलाई जति सक्दो चाँडो समृद्ध बनाउन हतारिरहेको थिएँ । यसका लागि मैले सुत्र थाहा पाउन सफल व्यक्तिहरुको जिवनी धेरै अध्ययन गरेँ । अध्ययन पश्चात मेरो मनमा सफल व्यक्तिको एउटा भनाइ बास बसिरहेको थियो । “सफल व्यक्तिले निदाएर सपना देख्न होइन, विपनामा सपना देख्नु पर्दछ” भन्ने भनाइ मलाइ बडो अनौठो र आनन्द लाग्दथ्यो ।

मैले सोचें सपना के देख्ने ? व्यापारी बनेर समृद्ध बन्ने ? काला व्यापारी भन्छन्, अहँ हुन्न । जागिरदार बनेर ? अहँ हुन्न, घुस्याहा कर्मचारी भन्छन् । नेता बनेर समृद्धि बन्ने ? ओहो अत्ति उत्तम सपना, पुँजी पनि नचाहिने, न पढी, लेखी बुद्धिमान भएको कुनै शिक्षालयको कुनै प्रमाणपत्र नै चाहिने ? जनतालाई मुर्ख बनाएर, ढाँटेर भाषण गर्न जान्यो भने त भइहालिन्छ नि नेता ।

नेता भएपछि मन्त्री । एक पटक मन्त्री बनेपछि त सात पुस्तालाई पुग्ने सम्पति त थुपारी हाल्छु नि । तर भाषण गर्न आउँदैन, साथीहरुलाई त कुरा नै गरेर मुर्ख बनाएको छु । अब त्यहि हो साथीहरुसँग ढाँटेर कुरा गरे जस्तो जनताको अगाडि भाषण गर्ने त हो । केहि गाह्रो छैन । एउटा ऐना चाहियो । १५ दिन ऐना अगाडि उभिएर भाषण गर्न अभ्यास ग¥यो भने नेपालमा एउटा नयाँ राज नेताको उदय भै हाल्छ । यस्तो हो भने शुभ काममा ढिलो किन ? ढिलो नगरी म ऐना किन्न बजार तिर दौडी हालेँ ं।

मेरा प्यारा दाजुभाइ, दिदिबहिनी सबैमा मेरो न्यानो माया । हामी भन्ने गर्दछौं, राणाहरुको १०४ वर्षे शासनका कारण देश अन्धकारमा डुब्यो भनेर। हामीले उन्मुक्ति खोज्यौं, तर तावाबाट उम्केको माछा भुंग्रोमा भने झैं । आज हामी सात शताब्दी भन्दा बढि लामो समयदेखि भुंग्रोमा छटपटिरहेका छौं । हामीले यो पीडाबाट मुक्तिको साथै एउटा सुन्दर भविष्यका लागि व्यवस्था बदल्यौं, नेता बदल्यौं, तर बदलिन सकेन हाम्रो दुख, बदलियो त नेताहरु, नेताहरुको जिवन बदलियो । आखिर कसरी बदलिन्छ हाम्रो देश र हामी जनता ? यसका लागि एउटै मात्र बाटो छ–जबसम्म तपाई, तपाई अनि तपाई जनता‘ विद्यमान हाम्रो दरिद्र र स्वार्थोन्मुख सोचबाट बदलिन सक्दैनौं, तबसम्म नेता बदलिँदैन, नेता नबदलिएसम्म यो देश बदलिँदैन ।

किन हामी सधैं त्यहि भ्रष्टाचारीलाई संसद सदस्य बनाउँदछौ ? अनि किन त्यहि अन्यायी, अत्याचारी देशद्रोहि र जनद्रोहिलाई संसद सदस्य बनाउँदछौं ? के त्यो अरु कसैले बनाएको हो ? होइन, त्यो तपाइले बनाउनुभएको हो । आजै तपाइमा भएको त्यो दरिद्र र स्वार्थोन्मुख विचारलाई बदलिनुस्, तब तपाइको मत बदलिनेछ । जब तपाइको मत बदलिनेछ, तब ति नेता बदलिनेछ । जब ति नेता बदलिनेछ, तब देश र सम्पूर्ण जनता बदलिने छ । जोड–जोडले पररर तालीको आवाज सुन्छु । म अझ ताली सुनेर अझ हौसिएर भाषण गर्न थालेँ । आज के भएको छ यो देशमा ? भ्रष्टाचार गर्ने मन्त्री, अन्याय अत्याचार गर्ने सधैं मन्त्री । गुण्डा पाल्न सक्ने, प्रशासन, अदालत किन्न सक्ने तिनै मन्त्री । अनि तिनै, प्रधानमन्त्री ?

सबै जनताले वाह–वाह गरे, नेता हुनु त यस्तो पो हुनु पर्दछ भनी मलाई काँधमा बोकेर शहर घुमाए । शहरबाट मलाई सिधै सिंहदरबार गेटमा लगियो । देशको सबै ठुल–ठुला शहरहरुमा मेरो समर्थनमा जुलुशहरु निस्किरहेका थिए । देशभर एकैचोटि मेरो समर्थनमा भएको नारा जुलुशले प्रधानमन्त्रीले आकस्मिक मन्त्रीपरिषद्को बैठक बोलाइएको थियो । राष्ट्रिय रुपमा सिंहदरबारको गेटमा भेला भएको अपार जनसमुदायको एउटै माग थियो, एउटै दवाब थियो, मलाई प्रधानमन्त्री बनाउन । मलाई सिंहदरबार भित्र भित्राउन सजावट गरिएको रथमा मलाई आसन ग्रहण गराइएको थियो ।

मन्त्री परिषद्को तत्काल बसेको बैठकको निर्णयानुसार मलाई राष्ट्रिय सभा सदस्य पद प्रदान गरी प्रधानमन्त्रीमा नियुक्त गर्ने कार्यक्रम बनाइयो । वर्तमान प्रधानमन्त्रीले प्रेस विज्ञप्ति निकाली राजिनामा दिने र नवनियुक्त प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्री परिषद् पुनर्गठन गर्ने निर्णय भयो । यति चाँडो सबै कार्यक्रमहरु फटाफट भैरहेको देखेर म खुसीले गदगद भै रहेको थिएँ । सोही कार्यक्रम अनुसार मलाई राजकीय सम्मानका साथ सिंहदरबार भित्र्याइयो । तुरुन्तै प्रधानमन्त्री पदको सपथग्रहण गर्ने कार्यक्रम अनुसार राष्ट्रपतिले मलाई सपथ ग्रहण गरायो ।

सपथग्रहण पश्चात मलाई पदीय भार ग्रहणको निमित्त पुस्तिकामा हस्ताक्षरका लागि कुर्सीमा आसन ग्रहण गर्न आग्रह भयो । म हतारिएर कुर्सीमा के बसेको मात्र थिएँ, सिसा फुटेको एउटा ठूलो आवाजले म झसँग भए । मेरो अगाडि क्रिकेटको बल र ऐना फुटेर ट्क्रा टुक्रा भएको थियो । छोरा छक्का भन्दै क्रिकेटको ब्याट लिएर दगुर्दै भित्र पस्यो । म आफैले आफैलाई प्रश्न गरें, ‘यो सब के भैरहेको छ ?’ बिस्तारै मैले सम्झिएँ, ‘नेता बन्न विपनामा देखेको सपनाबाट व्युँझिएको रहेछु । म नेता बन्न ठूलो ऐना अगाडि राखेर भाषण गर्न अभ्यास गर्दै थिएँ । छोराले क्रिकेटको व्याटले हानेको बलले लागेर त्यही ऐना चनाचुर भै फुटेको रहेछ । मेरी श्रीमति र छोरी मुख थुनेर हाँस्दै पछाडि बसेर ताली बजाउँदै थियो । मेरो भाषण सुनेर ।