हेटौंडाः हेटौंडा–१६, हटियास्थित जनप्रिय माध्यमिक विद्यालयमा सदन क्याप्टेन तथा भाइस क्याप्टेनको निर्वाचन भएको छ । शुक्रबार भएको मतदान र मतगणनाको कार्य गरी आम निर्वाचनको झल्को दिइएको थियो ।
निर्वाचनमा चारवटा सदनका ४ वटा निर्वाचन बुथ कायम गरिएको थियो । निर्वाचनमा चारवटा सदनका ४ हाउस क्याप्टेन तथा ८ जना भाइस क्याप्टेन चुनिएका छन् । जसमध्ये सर्वाधिक १०८ मत प्राप्त गर्ने कक्षा १० की सुरक्षा घिमिरे रातो सदनकी क्याप्टेन चुनिएकी हुन् । यस्तै १०५ मत प्राप्त गरी कक्षा १० का अनुसन्धान चापागाईं सोही सदनका उपक्याप्टेन चुनिए भने प्राविधिकतर्फबाट आमोस राई निलो सदनको क्याप्टेन तथा मधुकुमारी ठाकुर सोही सदनकी भाइस क्याप्टेन चुनिएकी हुन् । हरियो सदनतर्फ नेपाली माध्यमबाट अरुण मिश्र क्याप्टेन तथा निरज बलामी भाइस क्याप्टेन चुनिँदा मिश्रले ६६ र बलामीले १०३ मत प्राप्त गरेका थिए ।

विद्यालय तहबाटै नेतृत्व विकास तथा सामाजिक विषयमा अध्ययन गर्नुपर्ने निर्वाचन तथा संघीय व्यवस्था सम्बन्धी व्यवहारिक ज्ञान हासिल गराउनका लागि यस्तो निर्वाचन गरिएको अंग्रेजी माध्यम संयोजक तथा निर्वाचन संयोजक रविन श्रेष्ठले बताउनु भयो । विद्यालयमा नेपाली माध्यम, अंग्रेजी माध्यम र प्राविधिक तहका विद्यार्थीहरूले उत्साहजनक रुपमा प्रत्यक्ष चुनावमा सहभागिता जनाएका थिए । निर्वाचन आयोगले लिने निर्वाचनको झल्को दिनेगरी विद्यार्थीहरू सक्रिय रुपमा निर्वाचनमा सहभागी भएका थिए ।
विद्यार्थीहरूले नमूना मतपत्र, चुनाव चिन्ह, प्रचारप्रसार तथा मौन अवधि सबै निर्देशनहरूको पूर्णरुपमा पालना गरेका थिए । साथै उनीहरूले कक्षा कक्षामा गई आफ्ना एजेण्डासहित आफ्ना चिन्हमा मतदानका लागि आव्हान गरेका थिए । शिक्षक अभिभावक संघका सदस्य बुद्धप्रसाद दाहाल तथा गोविन्द दुलालले रिबन काटेर उद्घाटन गरेको निर्वाचन कार्यक्रममा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूलाई शिक्षकहरूले चुनावका लागि सहजीकरण गरेका गर्नु भएको थियो ।
निर्वाचित विद्यार्थीहरूलाई टिका तथा खादासहित बधाई ज्ञापन गरिएको थियो । विद्यालयका प्रधानाध्यापक नमराज अर्यालको सभाध्यक्षतामा निर्वाचन कार्यक्रम भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका प्रमुख गंगाधर रिमाल, शिक्षा अधिकृत रामचन्द्र खड्का तथा नायब सुब्बा राजमणि अधिकारी समेतको आतिथ्य रहेको थियो । कार्यक्रममा शिक्षा महाशाखा प्रमुख रिमालले सामुदायिक विद्यालयमा नेतृत्व विकासको यस निर्वाचनले विद्यार्थीहरूमा नेतृत्व विकासमा प्रतिस्पर्धात्मक क्षमताको विकास गराउने र त्यसले अपनत्व बोध गराउने भन्दै निर्वाचित सबैलाई बधाई दिनुभयो ।

निर्वाचित विद्यार्थीलाई आइतबार बिहानी प्रार्थनाक्रममा सपथ खुवाउने कार्यक्रम रहेको छ । कार्यक्रमको आन्तरिक व्यवस्थापन तथा निर्वाचन सम्बन्धी सबै व्यवस्थापकीय पक्ष शिक्षक संप्रस पौडेलले गर्नुभएको थियो । कार्यक्रममा म्यादी प्रहरी जस्ता पोशाकमा विद्यार्थीलाई नराखिए पनि स्वयंसेवकीय भूमिकामा विद्यार्थीकै बाक्लो उपस्थिती थियो । निर्वाचन कार्यक्रममा कार्यरत शिक्षक तथा कर्मचारीले उल्लेख्य भूमिका निर्वाह गरेका थिए । औपचारिक कार्यक्रममा सहायक प्रधानाध्यापक रामआशिष मण्डल, ११/१२ संयोजक कल्याणकृष्ण प्याकु¥याल, मावि तह संयोजक नीर बहादुर खड्का, रविन श्रेष्ठ, प्राथमिक तह संयोजक केपि अधिकारी, व्यवस्थापन समिति शिक्षक प्रतिनिधि बिष्णुहरी गौतम लगायतको सहभागिता रहेको थियो ।