हेटौंडाः बुधबार नवसर्जक साहित्य चौतारी नेपाल केन्द्रिय समिति, हेटौंडाको आयोजनामा विभूति अधिकारीको कृति “अद्भुत इन्द्रेणी” खण्डकाव्य कविता विमर्श कार्यक्रम भएको छ । पुरुषोत्तम आचार्यले सहजीकरण गर्नुभएको कार्यक्रममा मुना अर्याल र घनश्याम घिमिरेले बहस गर्नुभएको थियो ।
बहसकर्ताहरुले बालकविलाई प्रोत्साहन गर्दै लानुपर्ने बताएका छन् । अध्ययनशिल र लेखनलाई दख्खल राख्न लेखक आफैंले ध्यान दिन बहसकर्ताहरुले आग्रह गरेका छन् । नवसर्जक साहित्य चौतारी नेपालकी अध्यक्ष प्रशन्ना चौलागाइँको सभाध्यक्ष तथा वरिष्ठ हाँस्यकार आरसी रिजालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
सिद्वार्थ शिशु सदन, धनगढीमा कक्षा ९ मा अध्ययनरत् बालकवि अधिकारीले २०७७ सालमा “अद्भुत इन्द्रेणी” कृति प्रकाशित गर्नुभएको छ । विभिन्न पत्रपत्रिकामा फुटकर कविताहरु प्रकाशित गर्दै आउनु भएको अधिकारी नवसर्जक साहित्य चौतारी नेपालको उपाध्यक्ष हुनुहुन्छ । २०७६ सालमा नयाँ युवा नयाँ सोच वक्तृत्वकला प्रतियोगितामा तृतीय, २०७७ सालमा साहित्य सुधा नेपाल कविता प्रतियोगितामा द्वितीय, विकल बाल प्रतिभा पुरस्कार र साहित्य संगम नुवाकोट कविता प्रतियोगितामा अधिकारी प्रथम हुनुभएको छ । २०६३ साउन ५ गते जन्मिनु भएका अधिकारी साहित्य क्षेत्रमा आफ्ना कलम चलाउँदै आउनुभएको छ ।