मनहरीः प्लान नेपालको सहयोग, मनहरी गाउँपालिकाको समन्वय तथा सामुदायिक विकास संस्था (सिडिओ) नेपाल, मकवानपुरको आयोजनामा मनहरीमा सञ्चालित परियोजनाको सामाजिक लेखा परीक्षण गरिएको छ । सिडिओ नेपालका कार्यक्रम संयोजक अर्जुन खड्काले बिहीबार आर्थिक वर्ष २०७७/७८ मा भएको कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।

मनहरीलाई प्राथमिकतामा राखेर संस्थाले नमुना कक्षाकोठा निर्माण, विद्यालय मर्मत सम्भार, शिक्षामा आपतकालिन योजना, शिक्षक–अभिभावक तालिम, इसिडि शिक्षक तालिम जस्ता कार्यक्रम सञ्चालन गरिएको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ मा पालिकाका विभिन्न विद्यालयमा २५ वटा नमुना कक्षा निर्माण गरेको छ । विभिन्न कार्यक्रम सञ्चालन गर्दा गत आर्थिक वर्षमा ४३ लाख ५२ हजार ६ सय २ रुपैयाँ खर्च भएको छ ।

कार्यक्रममा सहभागी शिक्षकहरुले विद्यालयमा विपन्न वर्गका विद्यार्थीका लागि आपतकालिन शिक्षा योजना कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव राखेको छन् । घरमा विभिन्न विपद्का घटना घटे पनि विद्यार्थीले पढ्न पाउने गरी योजनाहरु ल्याउनुपर्ने सुझाव राखेका छन् । विद्यालयहरुमा व्यवस्थित नमुना कक्षाकोठाको संख्या बढाउनुपर्ने शिक्षकहरुले सुझाव राखेका छन् । कार्यक्रममा मनहरी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष अनन्त प्रकाश अर्याल, ५ नम्बर वडाका वडाध्यक्ष दिपेन्द्र अधिकारी, गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरिचन्द्र सापकोटाको उपस्थिति रहेको थियो ।