नगरप्रमुख मीना कुमारी लामालाई ज्ञापनपत्र बुझाइँदै ।

हेटौंडाः नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडाले हेटौंडा उपमहानगरपालिकाको कूल बजेटको २० प्रतिशत रकम शैक्षिक क्षेत्रमा छुट्याउन माग गरेको छ । बुधबार २२ बुँदे मागसहित संगठनले हेटौंडा उपमहानगरपलिकाको मेयर मिना कुमारी लामालाई ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्रको पहिलो बुँदामा पालिकाको कुल बजेटको २० प्रतिशत बजेट शिक्षामा लागानी गर्नुपर्ने माग गरिएको छ । विद्यालयमा कक्षा १–५ सम्म अंग्रेजी माध्यमको पठनपाठन हुनु पर्ने भन्दै पाठ्यपुस्तकको सुनिश्चितताको माग गरिएको छ । सबै विद्यालयहरुलाई आईसिटि युक्त विद्यालय बनाउनुपर्ने संगठनको माग छ । विद्यालयहरुमा विद्यालय कर्मचारीको दरबन्दी गर्नुपर्ने, आधारभूत तहका विद्यालयहरुमा लेखापालनको दरबन्दी व्यवस्था गर्नुपर्ने, भौगोलिक अवस्था अनुसार क्याम्पस र प्राविधिक शिक्षालयको स्थापना गर्नुपर्ने, भौतिक पूर्वाधारको सुनिश्चितता गर्नुपर्ने अभिभावक शिक्षा प्रदान गर्नुपर्ने माग गरिएको छ । यस्तै, पालिकाले हरेक वर्ष उत्कृष्ट शिक्षकहरु सम्मानको व्यवस्था गर्नु पर्ने जस्ता विषयको माग राखेर २२ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडा नगर समितिको अध्यक्ष गोपी रमण प्याकुरेल, नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेश सचिवालय सदस्य मोहन प्रसाद शर्मा, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दहाल लगायत सदस्यहरुको उपस्थिति रहेको थियो ।