ह्वीलचेयर हस्तान्तरण गर्नुहुँदै हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा ।

हेटौंडाः हेटौंडा–१७ का एक युवकलाई हेटौंडा उपमहानगरले ह्वीलचेयर वितरण गरेको छ । उपमहानगरको महिला तथा बालबालिका महाशाखाको समन्वयमा नगरप्रमुख मिनाकुमारी लामाले बुधबार ह्वीलचेयर हस्तान्तरण गर्नुभएको हो ।

वडा कार्यालयको सिफारिसमा हेटौंडा–१७ का १६ वर्षीय भोजराज घिमिरेलाई घर बाहिरको वातावरणमा हिँड्डुल गर्न सहज होस् भन्नका लागि सामग्री हस्तान्तरण गरिएको महिला तथा बालबालिका विकास महाशाखाका प्रमुख जगन्नाथ सापकोटाले जानकारी दिनुभयो । ह्वीलचेयर घिमिरेका बुबा कृष्णप्रसादले बुझ्नु भयो । उहाँले उपमहानगरले दिएको सामग्रीले छोरालाई बाहिरी वातावरणमा हिँडाउन सहज हुने भन्दै खुशी व्यक्त गर्नुभयो ।

उपमहानगरले चालु आर्थिक वर्षमा अहिलेसम्म नगरका विभिन्न वडामा रहेका शारीरिकरुपमा अशक्त व्यक्तिलाई ७० वटा भन्दा बढी ह्वीलचेयर बाँडेको महाशाखा प्रमुख सापकोटाले बताउनुभयो ।