हेटौंडाः राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालको राजनीति भ्रष्टाचारको जालोमा रहेको बताउनुभएको छ । राजनीतिक दलका नेता नै भ्रष्टाचारको विरुद्धमा बोल्न नसकेका कारण मुलुक आर्थिक संकटको स्थितिमा पुगेको उहाँको भनाइ छ ।
बुधबार हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष थापाले देशमा भ्रष्टचार गर्नेले नै भ्रष्टचारको विरोध गर्ने प्रवृत्तिले गर्दा भ्रष्टाचारी चिन्न गाह्रो भएको दावी गर्नुभयो । अहिले घुस बिना कुनैपनि काम गर्न नसकिने र घुस लिनु कानुनसम्मत जस्तै भएको थापाको भनाइ रहेको छ । अर्थव्यवस्थाको चुनौतीले देशमा युवा बेरोजगार बढेको उल्लेख गर्नुहुँदै अध्यक्ष थापाले देशमा धेरै विलासी वस्तुको प्रयोगले व्यापार घाटा बार्षिक १२ खर्ब पुगेको बताउनुभयो ।











