हेटौंडाः हेटौंडा–४, कर्रास्थित आइसोलेसन कक्षमा राखिएका दुईजनाको स्वाब (घाँटीको भागको र्याल) को परीक्षण गर्दा नतीजा कोरोना नेगेटिभ आएको छ । हेटौंडा उपमहानगरपालिकाका सूचना अधिकृत भानुभक्त थपलियाका अनुसार काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणअनुसार दुबैजनामा कोरोना नेगेटिभ नतीजा आएको हो ।
आइसोलेसनमा बसेका दुईजनाको गत शुक्रबार स्वाब परीक्षणका लागि टेकुस्थित प्रयोगशाला पठाइएको थियो । एकजनाको नतीजा हिजै आएको र नतीजा नेगेटिभ आएपछि आइसोलेसन कक्षबाट डिसचार्ज समेत भएको र आज कोरोना नेगेटिभ नतीजा आएका व्यक्ति साँझसम्ममा डिसचार्ज हुन सक्ने सूचना अधिकृत थपलियाले बताउनुभयो । उहाँका अनुसार क्वारेन्टाइनमा बसेका एक व्यक्ति कोरोनाको आशंकामा आजबाट आइसोलेसनमा राखिएको र उसको पनि स्वाब परीक्षणका लागि आजै काठमाडौं पठाइएको छ । अहिले हेटौंडा–११, हेटौंडा एकेडेमीस्थित क्वारेन्टाइनमा एकजना र हेटौंडा–४, कर्रास्थित श्रमिक माविमा स्थापना गरिएको आइसोलेसनमा दुईजना छन् ।