हेटौंडाः रोजगारीको सिलसिलामा विभिन्न देशबाट चैत १ गतेभन्दा पछि फर्किएका मकवानपुर जिल्लाका ३ सय २६ जना मध्ये ३ सय २२ जना होम क्वारेन्टाइनमा बसेका छन् । स्थानीय तहहरुले संकलन गरेको लगत आज जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको बैठकमा प्रस्तुत भएअनुसार २ जना हेटौंडा एकेडेमीस्थित क्वारेन्टाइनमा र २ जना श्रमिक माविस्थित आइसोलेसन कक्षमा रहेको उल्लेख गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको वेभसाइटमा राखिएको विवरणअनुसार चैत १ गतेपछि विदेशबाट आएका मध्ये हेटौंडा उपमहानगरपालिकामा १३० जना, थाहा नगरपालिकामा ६८ जना, मनहरी गाउँपालिकामा ६६ जना, ईन्द्रसरोवर गाउँपालिकामा १६ जना, भीमफेदी गाउँपालिका र बकैया गाउँपालिकामा १२/१२ जना, कैलाश र मकवानपुरगढी गाउँपालिकामा ५/५ जना तथा राक्सिराङ गाउँपालिकामा १ जना रहेका छन् । उनीहरु सबैलाई होम क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय मकवानपुरले हरेक स्थानीय तहले विदेशबाट आएका व्यक्तिहरु साथै, आफ्नो वडाको नागरिकको रोजगारी र अहिलेको समयमा गुजारा गर्न नसक्ने व्यक्तिहरुको लगत संकलन गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आज बसेको बैठकमा आपूर्ति व्यवस्थापनको नेतृत्व सबै स्थानीय तहले लिने निर्णय समेत गरेको छ । बैठकले आइतबार संघीय सरकारका गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकको निर्णय प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयको बैठकले विक्री वितरण गर्दा १ मिटरको दुरी कायाम गर्ने, आपूर्ति व्यवस्थापनको लागि वडा अध्यक्षको संयोजकत्वमा स्थानीय प्रहरीको प्रतिनिधीसहित समिति गठन गर्ने, वडास्तरीय समितिले आफ्नो वडाको रोजागारीको स्थिति र हालको अवस्थामा गुजारा चलाउन नसक्ने व्यक्तिहरुको लगत संकलन गर्ने, त्यस्ता व्यक्तिहरुलाई वडास्तरीय समितिले प्याकेजको सुविधा उपलब्ध गराउने, कुनै संघसंस्थाहरुले सहयोग गर्न चाहेको स्थानीय तहसँग समन्वय गर्नुपर्ने, सहायताको नाममा कसैले चन्दा उठाउन नपाउने, वितरणमा दोहोरापना हुन नदिने, जिल्ला समन्वय समितिले स्थानीय वडा कार्यालय अन्य जिल्लाका कार्यालयहरुसँग आवश्यक समन्वय गर्ने, कोरोना शंकास्पद व्यक्तिहरुलाई अस्पतालबाट क्वारेन्टाइन अथवा आइसुलेसन पठाउन एम्बुलेन्ससँगै आवश्यक परेमा सरकारी गाडि प्रयोग गर्ने, अस्पताल लगायत आइसोलेसन वार्ड स्थापना गरिएको हेटौंडा उपमहानगरको सबै स्थानमा डिस–इन्फेक्सन छर्ने कार्य जिल्ला स्वास्थ्य कार्यालयले हेटौंडा उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र अस्पतालसँग समन्वय गर्ने निर्णय गरेको छ ।