हेटौंडाः सरकारकै निर्देशन विपरित हेटौंडामा सरकारी बैंकले सेवा बन्द गरेका छन् । लक डाउनका बेला पनि सरकारले अत्यावश्यक सेवा क्षेत्र भनेर बैंकहरुलाई दैनिक निश्चित समय सेवा सुचारु गर्न भने पनि हेटौंडास्थित नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयले सेवा सुचारु गरेका छैनन् ।
नेपाल बैंकले हिजो र आज दुई दिन नै हेटौंडा–४, मेनरोडस्थित शाखा कार्यालय बन्द राखेको छ । नेपाल बैंकका शाखा प्रबन्धक यमनाथ दाहालले बैंक खोल्नुपर्ने भन्ने जानकारी नआएकोले बन्द गरिएको बताउनुभयो । लक डाउनका कारण कर्मचारी आउन, जान पनि समस्या हुने र एटीएम भएका शाखा बन्द राख्ने भन्ने योजनाअनुसार सेवा बन्द गरिएको उहाँको भनाइ छ । यता हेटौंडा–१०, मेनरोडस्थित राष्ट्रिय वाणिज्य बैंकले हिजो केही सेवाग्राहीलाई सेवा दिएको दावी गरे पनि दिनभर बैंक बन्द थियो भने अहिले पनि बैंक बन्द अवस्थामै छ । शाखा प्रमुख हेमराज मरहठ्ठाले भने सेवाग्राही नआएकाले बन्द गरिएको बताउनुभएको छ । यता सेवाग्राही भने बैंक बन्द भएका कारण कारोबार गर्न नपाउँदा समस्यामा परेको बताएका छन् ।