हेटौंडाः हेटौंडा नगरका विभिन्न डिलरमा आज पनि खाना पकाउने ग्यास आएको छ । उद्योगबाट आएको ग्यास सहज रुपमा वितरण भइरहेको ग्यास विक्रेता संघ मकवानपुरका अध्यक्ष दिलिश गोविन्द जोशीले जानकारी दिनुभयो । हिजो ३ हजार २८ सिलिण्डर खाना पकाउने ग्यास डिलरहरुमा आइपुगेको र वितरण व्यवस्था सहज भइसकेको उहाँले बताउनुभयो । गत बिहिबार, शुक्रबार र शनिबार तीनदिन ग्यासको आपूर्ति नभएका कारण अभावको स्थिति देखिएको थियो ।
हिजो बिहान बागमती प्रदेश सरकारको उद्योग मन्त्रालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय र मकवानपुर उद्योग वाणिज्य संघको प्रतिनिधिले साहारा ग्यास उद्योगको अनुगमन समेत गरेको थियो । संघीय सरकारको निर्देशन बमोजिम सात दशमलव एक केजी अर्थात आधा सिलिण्डर ग्यास मात्रै विक्री गरिएको छ । हेटौंडा–४, स्कूलरोडस्थित माँ विन्दवासिनी ट्रेडर्सका सञ्चालक पिताम्बर ढकालका अनुसार हिजै आएको ग्यास पनि सबै विक्री नभएर केही बाँकी रहेको र आज पनि ७० सिलिण्डर ग्यास आएको बताउनुभयो । उपभोक्ताको मागअनुसार वितरण गर्न पर्याप्त भएको उहाँले बताउनुभयो ।