हेटौंडाको थोक बजारमा विक्री नभएर थुपारिएको साग ।

हेटौंडाः लक डाउनकको समयमा पनि हेटौंडा बजारको तरकारी तथा फलफूलको थोक बजारमा जिल्लाभित्रै र जिल्ला बाहिरबाट तरकारीको आपूर्ति भए पनि विक्री भने न्यून मात्रै भएको व्यवसायीले बताएका छन् । विक्री कम भएसँगै भीमफेदीबाट ल्याइएका साथ खेर गएको व्यवसायीले बताएका छन् ।
सामान्य समयमा आपूर्ति हुने तरकारीको तुलना ३० प्रतिशत मात्रै आपूर्ति भए पनि विक्री गर्ने व्यवसायी नहुनु र सर्वसाधारणको सहज आवागमन नहुनुले थोक बजारमा आएका तरकारीको विक्री हुन नसकेको थोक विक्रेता मुक्तान शब्जी सप्लायर्सका श्याम मुक्तानले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबारदेखि तरकारीको आपूर्ति सहज भएको हो । अहिले हेटौंडा–१० स्थित तरकारीको थोक बजारमा गोलभेँडा ५० देखि ७० रुपैयाँ प्रतिकेजी विक्री भइरहेको छ । यस्तै हरियो खुर्सानी एक सय ५० रुपैयाँ, काउली ३० देखि ३५ रुपैयाँ, बन्दा १५ रुपैयाँ, भन्टा २५ रुपैयाँ, हरियो केराउ २० देखि ३० रुपैयाँ प्रतिकेजी विक्री भइरहेको मुक्तानले बताउनुभयो ।
हेटौंडा–१० स्थित तरकारी बजारका एक खुद्रा व्यवसायीले चाइनाक्वार्टर घर भएकोले बजारसम्म आउन सहज भएकोले पसल चलाइरहे पनि उपभोक्ता भने न्यून रहेको बताउनुभयो । हेटौंडाको थोक बजारमा अहिले भीमफेदी, मकवानपुरगढी, मनहरी गाउँपालिकाबाट तरकारी आइरहेको छ । किसानले थोक बजारका व्यवसायीसँग फोनमार्फत मागअनुसार पठाउने गरेका छन् ।