हेटौंडा बजारमा डिस-इन्फेक्सन छर्किँदै । फाइल तस्वीर ।

हेटौंडाः कोरोना भाइरस संक्रमणको जोखिम न्यून गर्न हेटौंडा उपमहानगरपालिकाले आजबाट डिस इन्फेक्सन छर्न सुरु गरेको छ । आज बिहान हेटौंडा बजारको मुख्यक्षेत्रमा सात हजार लिटर डिस इन्फेक्सन छरिएको हेटौंडा उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिनुभयो ।
उपमहानगरपालिकाले मानव स्वास्थ्यका लागि जोखिम नहुने डेक्साइन नामक डिस इन्फेक्सन छरेको कार्कीले बताउनुभएको छ । एक सय लिटर पानीमा आधा केजीका दरले सात हजार लिटर पानीमा ३५ केजी डेक्साइन प्रयोग भएको बताइएको छ । हेटौंडा उपमहानगरपालिका रहेको पुरानो दमकलको प्रयोग गरी डिस इन्फेक्सन छर्ने काम भएको छ । पहिलो चरणमा बजारको प्रमुख क्षेत्र छरिएको उल्लेख गर्नुहुँदै अब कहाँ कहाँ कसरी छर्कने भन्ने विषयमा नगरप्रमुख हरिबहादुर महतसँग सल्लाह गरेर काम गरिने कार्कीले बताउनुभएको छ ।