हेटौंडाः हेटौंडा नगरका विभिन्न २६ वटा डिलर मार्फत आज ३ हजार २८ सिलिण्डर खाना पकाउने ग्यास वितरण गरिने भएको छ । कारोना भाइरसको संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले लक डाउन गरेसँगै ग्यासको अभाव देखिएको छ । ग्यास विक्रेता संघ मकवानपुरका अध्यक्ष दिलिश गोविन्द जोेशीका अनुसार बिहिबार, शुक्रबार र शनिबार तीनदिन ग्यासको आपूर्ति नभएका कारण अभावको स्थिति देखिएको हो ।
आज साहारा ग्यास दुई हजार पाँच सय सिलिण्डर, ग्यास वान दुई सय ३४ सिलिण्डर र बाबा ग्यास दुई सय ९४ सिलिण्डर हेटौंडाका २६ वठा डिलरमा आइपुग्ने जोशीले जानकारी दिनुभएको छ । हेटौंडा–३ स्थित साहारा ग्यास उद्योगमा अझै १० हजार सिलिण्डर मौज्दात रहेको र भोलिदेखि नियमित आपूर्ति हुने भएकोले अभाव नहुने जोशीले दावी गर्नुभएको छ । आज बिहान बागमती प्रदेश सरकारको उद्योग मन्त्रालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय र मकवानपुर उद्योग वाणिज्य संघको प्रतिनिधिले साहारा ग्यास उद्योगको अनुगमन समेत गरेको छ । संघीय सरकारको निर्देशन बमोजिम आजबाट भने सात दशमलव एक केजी अर्थात आधा सिलिण्डर ग्यास मात्रै विक्री गरिने छ । यसअघि गत बुधबारसम्म भरी सिलिण्डर नै ग्यास विक्री गर्दै आएको संघका अध्यक्ष जोशीले बताउनुभएको छ ।