निर्वाचनमा प्रतिस्पर्धी आफ्ना गुरु ह्यग्रीव आचार्यलाई काँधमा बोकेर खुसियाली मनाउँदै सुशील घिमिरे ।

हेटौंडाः हेटौंडा–५ को वडा अध्यक्ष निर्वाचित भएका सुशील घिमिरेले आफ्ना निकटतम् प्रतिद्वन्द्वी ह्यग्रीव आचार्यलाई काँधमा बोकेर खुसियाली मनाएका छन् । घिमिरे नेकपा एमालेबाट वडा अध्यक्ष निर्वाचित भएका हुन् भने आचार्य नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार थिए ।

आचार्य घिमिरेका शिक्षक समेत हुन् । आफ्ना गुरुसँग चुनावी प्रतिस्पर्धाका क्रममा पनि घिमिरेले सौहाद्र्धता प्रस्तुत गरेका थिए । चुनावी अभियानका क्रममा घरदैलोमा आउँदा सुशीलले आफ्ना गुरु ह्यग्रीव आचार्यलाई दही सगुन खुवाएर शुभकामना दिएका थिए । ह्यग्रीव आचार्यको उम्मेदवारी घोषणाभन्दा अगाडि नै सुशील वडा अध्यक्षको उम्मेदवार निश्चित भइसकेका थिए । आफ्नै चेलासँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा ह्यग्रीव आचार्यले असहज महसुस गरे पनि आफूहरुबीच सौहाद्र्ध वातावरण हुने प्रतिवद्धता व्यक्त गरेका थिए ।

वडा अध्यक्षमा विजयी सुशीलले प्रदर्शन गरेको सौहाद्र्धता र आफ्ना गुरुप्रति प्रदर्शन गरेको सम्मानलाई लिएर सर्वसाधारणले प्रशंसा गरेका छन् । सामाजिक सञ्जालमा सुशीललाई बधाई दिँदै सुशीलले आफ्ना गुरुप्रति प्रस्तुत गरेको सम्मानको उनका साथीभाई, चिनजानका मानिसले प्रशंसा र सराहना गर्दै सामाजिक सञ्जालमा सौहाद्र्धताप्रति आभार समेत व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय खेलाडी सुशीलले देशका लागि पदक समेत जितेर केही वर्ष वैदेशिक रोजगारीमा थिए । वैदेशिक रोजगारीबाट फर्किएपछि सुशीलले वडामा सामाजिक सेवाका काम गर्दै आएका थिए । सुशीलकै अग्रसरतामा बहुउद्देश्यीय कभर्डहलदेखि पिप्ले क्याम्पा रंगशाला समेत निर्माण भएपछि नेकपा एमालेले सुशीललाई वडा अध्यक्षको उम्मेदवार बनाएको हो ।