संगमचोकको सडक स्तरीयकरण गरिँदै ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको २ नम्बर वडा अध्यक्षमा निर्वाचित भएलगत्तै विष्णुगोपाल महर्जनले वडाको काम थालेका छन् । प्राविधिक पृष्ठमूमिका महर्जन सोमबार मात्रै मतगणना सकिएर वडा अध्यक्ष निर्वाचित भएका हुन् । वडा अध्यक्ष निर्वाचित भएको प्रमाणपत्र समेत हात पार्न नपाएका महर्जनले बिहीबार बिहान हेटौंडा–२ को संगमचोकको सडकको स्तरीकरण गर्न सुरु गरेका छन् ।

आफैं उपस्थित भएर संगमचोकको सडक स्तरीकरण गर्दै वडा अध्यक्ष विष्णुगोपाल महर्जन ।

वडा अध्यक्षको उम्मेदवारी दर्ता भएपछि मत माग्ने क्रममा मतदातालाई वाचा गरेअनुरुप नै आफूले सडक स्तरीकरणको कार्य सुरुवात गरेको महर्जन बताउँछन् । ‘मैले मतदातासँग मत माग्ने क्रममै वाचा गरेको थिएँ । प्राविधिक पृष्ठभूमि भएकोले म पूर्वाधार विकासमा स्तरीय र गुणस्तरीय काम गर्नेछु’, महर्जनले भने ‘वडाकै प्रमुख चोकको रुपमा रहेको संगमचोक र कांग्रेस चोकको स्तरीकरण गरेर कामको सुरुवात गरेको छु ।’ वडा अध्यक्ष महर्जनसँगै नवनिर्वाचित वडा सदस्यहरु पनि सडक स्तरीकरणको काममा सहभागी थिए ।

महर्जनले व्यक्तिगत लगानीमै संगमचोकको बिग्रिएको कल्भर्ड मर्मत गर्न सुरु गरेका छन् भने कांग्रेसचोकको खाल्डाखुल्डी पिच गरेर टाल्ने बताए । आफ्नै साथीभाईसँग निर्माण सामग्री, आवश्यक उपकरण मागेर ज्याला र ईन्धनको व्यवस्थापन गरी सडक मर्मत गर्न लागेको महर्जनको भनाइ छ । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका महर्जन वडामा बागी उम्मेदवारसहित नेकपा एमालेका उम्मेदवारलाई पराजित गरेर वडा अध्यक्ष निर्वाचित भएका हुन् । हेटौंडा उपमहानगरपालिकाबाटै अनिवार्य अवकास प्राप्त इन्जिनियर महर्जन मकवानपुरमा होटल व्यवसाय, स्वास्थ्य संस्था सञ्चालकको रुपमा क्रियाशील छन् । यसका साथै महर्जन सामाजिक, सांस्कृतिक क्षेत्रमा पनि क्रियाशील व्यक्ति हुन् ।