हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका–३ मा अनन्त प्रकाश अर्याल विजयी भएका छन् । आइतबार साँझ सम्पन्न मतगणनाअनुसार अर्याल १ हजार ४२ मतसहित वडा अध्यक्षमा विजयी भएका हुन् ।
अध्यक्षका प्रत्यासी नेकपा माओवादी केन्द्रका उम्मेदवार सञ्जीव पाठकले ७ सय २० मत पाउँदा नेकपा एमालेका उम्मेदवार मानबहादुर बलले ५ सय ४३ मत पाए । वडा सदस्यमा पनि नेपाली कांग्रेसका उम्मेदवार नै विजयी भएका छन् । वडा सदस्यमा सविता सुवेदी, धनमाया बिक, सानुकाजी लुइटेल र हीराबहादुर प्रजा विजयी भएका छन् ।
यसअघि मनहरी–१ मा नेपाली कांग्रेसका शिवप्रसाद खनाल र मनहरी–२ मा राजकुमार पाख्रिन वडा अध्यक्षमा निर्वाचित भइसकेका छन् । निर्वाचन अधिकृतको कार्यालयले आइतबार साँझबाट ४ नम्बर वडाको मतगणना गर्ने तयारी गरिरहेको जनाएको छ । ३ वटा वडाको मतगणना सकिँदा माओवादी र कांग्रेसको गठबन्धनबाट गाउँपालिका अध्यक्षका उम्मेदवार कांग्रेसका रञ्जन कालाखेतीले ३ हजार १ सय मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार एकराज उप्रेतीले १ हजार ४ सय ४ मत पाएका छन् । यस्तै उपाध्यक्ष पदमा माओवादीकी सीता पुलामी मगरले १ हजार ८ सय १६ मत पाउँदा नेकपा एमालेकी सुजिता थिङले १ हजार ४ सय मत पाएकी छन् ।
