हेटौंडा–४ स्थित भुटनदेवी मावि मतदान केन्द्रमा मतदान गर्नुहुँदै संघीय सरकारका स्वास्थ्य मन्त्री विरोध खतिवडा ।

हेटौंडाः मकवानपुरका १० वटा पालिकामा करिब ७१ प्रतिशत मत खसेको मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभएको छ । मकवानपुरका १० वटै पालिकामा खसेको मतको पूर्ण विवरण आउन केही समय लाग्ने भए पनि प्रारम्भिक चरणको विवरणअनुसार करिब ७१ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठको भनाइ छ ।

समृद्ध समाजसँग कुरा गर्नुहुँदै मुख्य निर्वाचन अधिकृत श्रेष्ठले भन्नुभयो, ‘हेटौंडा उपमहानगरपालिकामा करिब ६५ प्रतिशत मत खसेको अनुमान गरिएको छ । समग्रमा जिल्लाभर करिब ७१ प्रतिशत मत खसेको छ ।’ सवै पालिकाको मतगणनास्थलसम्म मतपेटिका ल्याउने कार्य भइरहेको र मतपेटिका मतगणनास्थलसम्म ल्याइसकेपछि उम्मेदवारसँग छलफल गरेर मतगणना कार्य सुरु गरिने उहाँले बताउनुभयो । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत शुक्रबार बिहान ७ बजेबाट सुरु भई अपरान्ह ५ बजेसम्म मतदानको कार्य भएको थियो ।