हेटौंडा–१६, हटियास्थित जनप्रिय माविमा कक्षा ८ को बार्षिक परीक्षा दिँदै विद्यार्थी ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको परीक्षा समितिले आज सोमबार साँझ कक्षा ८ को वार्षिक परीक्षाको नतीजा सार्वजनिक गर्ने भएको छ । परीक्षा सकिएको ८ दिनमै नतीजा सार्वजनिक गर्न लागेको हो । सोमबार दिउँसो बसेको आधारभूत तह (कक्षा–८) परीक्षा समितिले नतीजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

नतीजा अनलाइनमार्फत हेर्न सकिने परीक्षा समितिका संयोजक गंगाधर रिमालले जानकारी दिनुभएको छ । सोमबार साँझ ६ बजेसम्ममा नतीजा अनलाइनमा अपलोड भइसक्ने र नतीजा सार्वजनिक भएलगत्तै www.info.np मा नतीजा हेर्न सकिने रिमालले बताउनुभयो । विद्यार्थीले सम्बन्धित विद्यालयमा सम्पर्क राखेर विस्तृत नतीजा हेर्न सक्नेछन् ।

हेटौंडा उपमहानगर क्षेत्रका सरकारी तथा निजी दुवै गरी ८० वटा विद्यालयका ३ हजार ७ सय विद्यार्थी परीक्षामा सहभागी थिए । शैक्षिक सत्र २०७८ मा कक्षा ८ मा ४ हजार ३६ जना विद्यार्थी भर्ना भएको भए पनि परीक्षामा ३ सय २६ जना विद्यार्थी अनुपस्थित रहे । वार्षिक परीक्षामा सरकारी विद्यालयबाट २ हजार ४ सय २८ जना विद्यार्थी सहभागी भएका छन् भने निजी विद्यालयबाट १ हजार २ सय ७२ जना विद्यार्थी सहभागी भएका छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!