रामकृष्ण घोरासाइनी
हेटौंडाः स्थानीय तह निर्वाचनमा मकवानपुरको राक्सिराङ गाउँपालिकाका उम्मेदवारको साझा एजेण्डाको रुपमा ‘एक गाउँ एक उत्पादन’ र सडक विस्तार रहेको छ । विकासमा पछि परेको पालिकामा प्रमुख दुई दलका उम्मेदवारहरु उत्पादन क्षेत्र र सडक विस्तारलाई जोड दिँदै चुनावी प्रचारमा लागेका छन् ।

स्थानीय तह निर्वाचनमा गठबन्धनबाट राक्सिराङको अध्यक्ष पदमा यसअघिका गाउँपालिका अध्यक्ष राजकुमार मल्ल नै उम्मेदवार हुनुहुन्छ । गाउँपालिकाको पुनः नेतृत्व गर्ने अवसर पाएमा एक टोल एक उत्पादनको नीति ल्याउने मल्लको भनाइ छ । अघिल्लो निर्वाचनमा आफू निर्वाचित भएर नेतृत्व गर्दै गर्दा संघीयताको कुरा बुझ्न समय लागेको र राक्सिराङको विकास शून्य अवस्थामा रहेको मल्लले बताउनुभयो । विकासको पहुँचबाट पछाडि परेको ठाउँमा संघीयतासँगै विकास आउँदा ‘माग्नेलाई तातो भात खान पाएको जस्तो भएको’ मल्लले बताउनुभयो । निर्वाचित भएर आउँदै गर्दा कुनै पनि नीति, कानुन, कार्यालयको भवन, कर्मचारी, अनुभव र साधनस्रोतको अभावमा कार्य गर्दै आएको उहाँले बताउनुभयो ।

पहिले नौं वटा वडाबाट ५० हजार आन्तरिक आम्दानी उठाउन मुस्किल भएको ठाउँमा अहिले आठ दश करोड आन्तरिक स्रोत वृद्धि भएको उहाँको भनाइ छ । अब जनाताका समस्याको पहिचान भएको र स्रोत साधनले सम्पन्न भएकाले आफ्नो अनुभव र स्रोत साधनको परिचालन गरी विकासले फड्को मार्ने समय रहेको मल्लको भनाइ छ । आफूले निर्माण गरेको प्रणाली, स्रोत र साधनलाई परिचालन गर्दा मकवानपुर जिल्लाको कर्णाली भनेर चिनिने राक्सिराङ गाउँपालिकामा अहिले भएको विकासले समृद्धिको रेखा कोरेको उहाँले दावी गर्नुभयो । पहिलो कार्यकालमा नीति निर्माण, भौतिक संरचना निर्माण र व्यवस्थापनजस्ता कुराहरु भएको र अबको कार्यकालमा विकासमा छलाङ मार्ने काम गर्ने बताउनुभयो ।

चुनावमा जाँदै गर्दा पालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धन भएको छ । पालिकामा नौ वडामध्ये २, ३ र ४ नम्बर वडामा गठबन्धन भएको र बाँकी ६ वडामा मित्रवत्रुपमा निर्वाचन प्रक्रियामा अगाडि बढेको छ । शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, सीप विकास, महिला उद्यम र १२ महिना नै सञ्चालन हुने सडक बनाउने उहाँको प्रतिबद्धता रहेको छ । शून्य सडकखण्ड भएको राक्सिराङमा ९ महिना सडक सञ्चालन हुने बनाएको र अब आफू अध्यक्ष भएपश्चात् सडक बाह्रै महिना सञ्चालनमा ल्याउने बताउनुभयो ।

जनताको आयस्रोतको विकासलाई पनि महत्वमा राखेको र कुन स्थानमा के उत्पादनमा उपयोगी हुने, पर्यटकीय क्षेत्र र कुन क्षेत्रमा के आवश्यक छ भनी विधि तयार पारेको भन्दै मल्लले कार्यान्वयनपश्चात् राक्सिराङबासीको धेरै समस्या हल हुने बताउनुभयो । आफ्नो कमाइबाट तीन–छ महिनामात्र खान पुग्ने र अरु समय कन्दमुल खानुपर्ने र ज्याल मजदुरीमा जानुपर्ने अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो । जनतालाई खेतीमा निर्वाहमुखी नभई व्यावसायीकरणमा लाने बताउनुभयो । अघिल्लो निर्वाचनमा बहुमत ल्याई आफूले जितेर राम्रो काम गरी जनताले पनि विश्वास गरेको हुँदा यसपटक पनि आफ्नो जित निश्चित हुने उहाँको भनाइ छ ।

स्थानीय तहको निर्वाचन–२०७४ मा नेकपा एमालेबाट ३ नम्बर वडाअध्यक्षमा निर्वाचित बाबुलाल स्याङ्तान २०७९ सालको निर्वाचनमा गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बन्नुभएको छ । सुशासनयुक्त र भ्रष्टाचारमुक्त गाउँपालिका निर्माण गर्न ‘कृषि, पर्यटन र पूर्वाधार विकासको आधार राक्सिराङ गाउँपालिकामा एमालेको सरकार’ भन्ने नारा लिएर एमाले अगाडि बढेको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाको केन्द्रबाट प्रत्येक वडामा पुग्ने सडक विस्तार गर्ने स्याङ्तानको भनाइ छ । गाउँकोे आर्थिक अवस्थामा सुधार ल्याउन एक घर एक व्यवसायी उत्पादन गर्ने उद्देश्य रहेको उहाँले बताउनुभयोे । युवालाई स्वरोजगार बनाउने उद्देश्यले एक गाउँ एक उत्पादनलाई जोड दिने उहाँको भनाइ छ । पालिकामा रहेको भिमुङ, चमेरो गुफाको झरनाजस्ता क्षेत्रलाई पर्यटन प्रवद्र्धन गरी आन्तरिक आयको वृद्धि गर्ने पनि उहाँले बताउनुभयो ।

अघिल्लो कार्यकालमा विपक्षी दलको प्रतिनिधि पालिकामा हुँदै गर्दा भ्रष्टाचार भएको उहाँले आरोप लगाउनुभएको छ । कुनै विकास निर्माणको कामको ठेक्कापट्टामा व्यक्तिगत हावी भएकोे र भ्रष्टाचारको दर्जनौं मुद्दा अख्तियारमा परेकोे स्याङ्तानको भनाइ छ । योजना सञ्चालनमा व्यक्ति हावी भई जनताले महसुस गर्ने कार्ययोजना नभएको भन्दै आफू विजयी भएपश्चात् जनताले अनुभूति गर्नसक्ने कार्ययोजना ल्याउने उहाँले बताउनुभयो ।

गाउँपालिकामा रहेका जेष्ठ र अपाङ्गता भएका नागरिकलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने र पालिकाभित्रका जनतालाई निःशुल्क रगतको व्यवस्था गर्ने योजना रहेको उहाँको भनाइ छ । एक वडा एक एम्बुलेन्स र युवाहरुलाई प्रत्येक वडामा एक खेलमैदानको योजना ल्याएको उहाँले जानकारी दिनुभयो । युवालक्षित खेलकुद प्रशिक्षण गर्ने, महिलालाई आयमूलक कार्यमा सहभागी गराउन सीपमूलक तालिमको व्यवस्था गर्ने योजना रहेको उहाँले बताउनुभएको छ ।