Home मुख्य समाचार अबको कार्यकालमा विकासले छलाङ मार्छः मल्ल, जनताले महसुस गर्नसक्ने योजना ल्याउँछुः स्याङ्तान

अबको कार्यकालमा विकासले छलाङ मार्छः मल्ल, जनताले महसुस गर्नसक्ने योजना ल्याउँछुः स्याङ्तान

रामकृष्ण घोरासाइनी
हेटौंडाः स्थानीय तह निर्वाचनमा मकवानपुरको राक्सिराङ गाउँपालिकाका उम्मेदवारको साझा एजेण्डाको रुपमा ‘एक गाउँ एक उत्पादन’ र सडक विस्तार रहेको छ । विकासमा पछि परेको पालिकामा प्रमुख दुई दलका उम्मेदवारहरु उत्पादन क्षेत्र र सडक विस्तारलाई जोड दिँदै चुनावी प्रचारमा लागेका छन् ।

स्थानीय तह निर्वाचनमा गठबन्धनबाट राक्सिराङको अध्यक्ष पदमा यसअघिका गाउँपालिका अध्यक्ष राजकुमार मल्ल नै उम्मेदवार हुनुहुन्छ । गाउँपालिकाको पुनः नेतृत्व गर्ने अवसर पाएमा एक टोल एक उत्पादनको नीति ल्याउने मल्लको भनाइ छ । अघिल्लो निर्वाचनमा आफू निर्वाचित भएर नेतृत्व गर्दै गर्दा संघीयताको कुरा बुझ्न समय लागेको र राक्सिराङको विकास शून्य अवस्थामा रहेको मल्लले बताउनुभयो । विकासको पहुँचबाट पछाडि परेको ठाउँमा संघीयतासँगै विकास आउँदा ‘माग्नेलाई तातो भात खान पाएको जस्तो भएको’ मल्लले बताउनुभयो । निर्वाचित भएर आउँदै गर्दा कुनै पनि नीति, कानुन, कार्यालयको भवन, कर्मचारी, अनुभव र साधनस्रोतको अभावमा कार्य गर्दै आएको उहाँले बताउनुभयो ।

पहिले नौं वटा वडाबाट ५० हजार आन्तरिक आम्दानी उठाउन मुस्किल भएको ठाउँमा अहिले आठ दश करोड आन्तरिक स्रोत वृद्धि भएको उहाँको भनाइ छ । अब जनाताका समस्याको पहिचान भएको र स्रोत साधनले सम्पन्न भएकाले आफ्नो अनुभव र स्रोत साधनको परिचालन गरी विकासले फड्को मार्ने समय रहेको मल्लको भनाइ छ । आफूले निर्माण गरेको प्रणाली, स्रोत र साधनलाई परिचालन गर्दा मकवानपुर जिल्लाको कर्णाली भनेर चिनिने राक्सिराङ गाउँपालिकामा अहिले भएको विकासले समृद्धिको रेखा कोरेको उहाँले दावी गर्नुभयो । पहिलो कार्यकालमा नीति निर्माण, भौतिक संरचना निर्माण र व्यवस्थापनजस्ता कुराहरु भएको र अबको कार्यकालमा विकासमा छलाङ मार्ने काम गर्ने बताउनुभयो ।

चुनावमा जाँदै गर्दा पालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धन भएको छ । पालिकामा नौ वडामध्ये २, ३ र ४ नम्बर वडामा गठबन्धन भएको र बाँकी ६ वडामा मित्रवत्रुपमा निर्वाचन प्रक्रियामा अगाडि बढेको छ । शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, सीप विकास, महिला उद्यम र १२ महिना नै सञ्चालन हुने सडक बनाउने उहाँको प्रतिबद्धता रहेको छ । शून्य सडकखण्ड भएको राक्सिराङमा ९ महिना सडक सञ्चालन हुने बनाएको र अब आफू अध्यक्ष भएपश्चात् सडक बाह्रै महिना सञ्चालनमा ल्याउने बताउनुभयो ।

जनताको आयस्रोतको विकासलाई पनि महत्वमा राखेको र कुन स्थानमा के उत्पादनमा उपयोगी हुने, पर्यटकीय क्षेत्र र कुन क्षेत्रमा के आवश्यक छ भनी विधि तयार पारेको भन्दै मल्लले कार्यान्वयनपश्चात् राक्सिराङबासीको धेरै समस्या हल हुने बताउनुभयो । आफ्नो कमाइबाट तीन–छ महिनामात्र खान पुग्ने र अरु समय कन्दमुल खानुपर्ने र ज्याल मजदुरीमा जानुपर्ने अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो । जनतालाई खेतीमा निर्वाहमुखी नभई व्यावसायीकरणमा लाने बताउनुभयो । अघिल्लो निर्वाचनमा बहुमत ल्याई आफूले जितेर राम्रो काम गरी जनताले पनि विश्वास गरेको हुँदा यसपटक पनि आफ्नो जित निश्चित हुने उहाँको भनाइ छ ।

स्थानीय तहको निर्वाचन–२०७४ मा नेकपा एमालेबाट ३ नम्बर वडाअध्यक्षमा निर्वाचित बाबुलाल स्याङ्तान २०७९ सालको निर्वाचनमा गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बन्नुभएको छ । सुशासनयुक्त र भ्रष्टाचारमुक्त गाउँपालिका निर्माण गर्न ‘कृषि, पर्यटन र पूर्वाधार विकासको आधार राक्सिराङ गाउँपालिकामा एमालेको सरकार’ भन्ने नारा लिएर एमाले अगाडि बढेको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाको केन्द्रबाट प्रत्येक वडामा पुग्ने सडक विस्तार गर्ने स्याङ्तानको भनाइ छ । गाउँकोे आर्थिक अवस्थामा सुधार ल्याउन एक घर एक व्यवसायी उत्पादन गर्ने उद्देश्य रहेको उहाँले बताउनुभयोे । युवालाई स्वरोजगार बनाउने उद्देश्यले एक गाउँ एक उत्पादनलाई जोड दिने उहाँको भनाइ छ । पालिकामा रहेको भिमुङ, चमेरो गुफाको झरनाजस्ता क्षेत्रलाई पर्यटन प्रवद्र्धन गरी आन्तरिक आयको वृद्धि गर्ने पनि उहाँले बताउनुभयो ।

अघिल्लो कार्यकालमा विपक्षी दलको प्रतिनिधि पालिकामा हुँदै गर्दा भ्रष्टाचार भएको उहाँले आरोप लगाउनुभएको छ । कुनै विकास निर्माणको कामको ठेक्कापट्टामा व्यक्तिगत हावी भएकोे र भ्रष्टाचारको दर्जनौं मुद्दा अख्तियारमा परेकोे स्याङ्तानको भनाइ छ । योजना सञ्चालनमा व्यक्ति हावी भई जनताले महसुस गर्ने कार्ययोजना नभएको भन्दै आफू विजयी भएपश्चात् जनताले अनुभूति गर्नसक्ने कार्ययोजना ल्याउने उहाँले बताउनुभयो ।

गाउँपालिकामा रहेका जेष्ठ र अपाङ्गता भएका नागरिकलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने र पालिकाभित्रका जनतालाई निःशुल्क रगतको व्यवस्था गर्ने योजना रहेको उहाँको भनाइ छ । एक वडा एक एम्बुलेन्स र युवाहरुलाई प्रत्येक वडामा एक खेलमैदानको योजना ल्याएको उहाँले जानकारी दिनुभयो । युवालक्षित खेलकुद प्रशिक्षण गर्ने, महिलालाई आयमूलक कार्यमा सहभागी गराउन सीपमूलक तालिमको व्यवस्था गर्ने योजना रहेको उहाँले बताउनुभएको छ ।

Exit mobile version