राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ।

हेटौंडाः राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले जितेमा भ्रष्टाचारमुक्त देश बन्ने बताउनु भएको छ । अन्य राजनीतिक दलले भ्रष्टाचार गरेकोले देशको विकास नभएको र देशको आर्थिक अवस्था खस्केको लिङ्देनको भनाइ थियो ।

आइतबार हेटौंडामा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै लिङ्देनले अन्य दल कमाउने सिद्धान्त बोकेर राजनीति गर्ने र आफूहरुले देशको विकास गर्न आएको बताउनुभयो । ५ बर्षको अवधिमा मतदान गर्ने दिननै जनता मालिक हुने दिन भएको उल्लेख गर्नुहुँदै भोट हाल्दा धेरै विचार र सोच पुर्‍याएर हाल्नुपर्ने उहाँले बताउनुभयो ।

सभालाई सम्बोधन गर्दै हेटौंडा उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार दीपक बहादुर सिंहले आफू मेयर भए भ्रष्टाचारमुक्त नगर बनाई नेपालको नमुना नगरपलिकाको निर्माण गर्नु बताउनु भएको छ । मेयर भएपश्चात सरकारबाट पाउने सुविधाहरु नलिई जनताको विकासमा जोड दिने उहाँको भनाइ रहेको छ ।