हेटौंडाः गढी गाउँपालिकाको लागि नेकपा एमालेको तर्फबाट पुनः अध्यक्ष पदका लागि वहालवाला अध्यक्ष विदुर हुमागाईको उम्मेदवारी छ । पहिलो कार्यकालमा प्रतिबद्धताअनुसार नै धेरै कामहरु गर्न सफल भएको भन्दै उहाँले केही योजनाहरु अधुरा रहेको जानकारी दिनुभयो । पहिलो कार्यकालमा अधुरा रहेका कामहरु पूर्णता दिने योजनाअनुसार दोस्रो कार्यकालको लागि उम्मेदवारी दिएको उहाँले बताउनुभयो ।
पहिलो पटकको स्थानीय तहको निर्वाचनमा गरिएको प्रतिबद्धताअनुसार नै काम गरेको उहाँको भनाई छ । पहिलो कार्यकाल सन्तोषजनक रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो कार्यकालमा मैले सकेको जति कामहरु गरेँ । केही राम्रा र उपलब्धीमूलक कामहरु पनि भए । पार्टीले नै मेरो कामको प्रशंसा गरेर पुनः अध्यक्षको उम्मेदवार बनाउन अगाडि सारेको हो ।” पहिलो कार्यकालमा भएको कामको स्मरण गर्दै उहाँले भौतिक पूर्वाधारको क्षेत्रमा १२ वटा पुल निर्माण भयो, ६ वटा खानेपानीको महत्वपूर्ण योजना, सामाजिक विकासतर्फ एक वडा एक माध्यमिक विद्यालय, अस्पताल निर्माण गर्ने काम सम्पन्न गरेको जानकारी हुमागाईले दिनुभयो । यस्तै, बालमैत्री गाउँपालिका घोषणा, कृषि क्षेत्रमा महत्वपूर्ण अनुदानका कार्यक्रमहरु सञ्चालन भएको बताउनुभयो ।
गाउँपालिकाको भौगोलिक विशेषताको बारेमा जानकारी दिँदै मकवानपुरगढी गाउँपालिका चुरे र पहाडी विशेषता बोकेको गाउँपालिका भएको बताउनुभयो । भौगोलिक विशेषताको आधारमा कृषि र पशुपालनको क्षेत्र छुट्याएर काम गरेको उहाँले स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “साविक मकवानपुरगढी, बुढीचौर, सुकौरा तथा आमभञ्ज्याङ गाविसहरु मिलेर मकवानपुरगढी गाउँपालिका बनेको हो । हेटौंडा उपमहानगरपालिकासँग जोडिएको गाउँपालिका भीमफेदी र बकैयासँग पनि जोडिएको छ ।”
गाउँपालिकालाई समृद्ध बनाउन आधारशीला निर्माण भएको भन्दै केही योजनाहरु अधुरा रहेकाले त्यसको पूर्णताको लागि पुनः अध्यक्षको उम्मेदवारी दिएको जानकारी उहाँले दिनुभयो । स्थानीय चुनावमा निर्वाचित भएपश्चात् उहाँको सञ्जाल जोड्ने स्थायी बाटो निर्माण गर्ने, कृषि, पशुपालन र पर्यटनमार्फत् आर्थिक विकास गर्ने, ७ सयभन्दा माथिलाई रोजगारी उपलब्ध गराउने र ३ हजारलाई उद्यमी बनाउने योजना रहेको छ । मकवानपुर गढी गाउँपालिकामा विशेष प्राथमिकता कृषि, पशु र पर्यटन रहेको भन्दै उहाँ अहिले घरदैलो अभियानमा हुनुहुन्छ । गढी गाउँपालिकामा वडास्तरबाट पनि चुनावी प्रचारप्रसार भइरहेको उहाँले जानकारी दिनुभयो ।