राजकुमार लामिछाने

समाजको आर्थिक, सामाजिक, राजनीतिक एवम् साँस्कृतिक विसंगति र विकृतिलाई हास्यव्यङ्ग्यको माध्यमबाट सार्वजनिक गर्ने सोचका साथ सिस्नुपानी नेपाल (हास्यव्यङ्ग्य सदन) २०५५ मा गठन भएको हो । सिस्नुपानी नेपालको कार्यालय काठमाडौं महानगरपालिका–९, सिनामंगलमा रहेको र स्थापना कालदेखि नै शाखा कार्यालयको रूपमा सिस्नुपानी नेपाल, मकवानपुरले सक्रिय रूपमा हास्यव्यङ्ग्य सम्बन्धी कार्यक्रमहरू संचालन गर्दै आएको छ ।

सिस्नुपानी नेपाल, मकवानपुर शाखाको संस्थापन अध्यक्ष रामचन्द्र आचार्य, त्यसपछि क्रमशः आरसि रिजाल, डा. गणेश कुमार पौडेल हुनुभयो । यस संस्थाले वरिष्ठ हास्यव्यङ्ग्य भैरव अर्यालको नाममा स्थापित भैरव अर्याल स्मृति सम्मान हास्यव्यङ्ग्य क्षेत्रमा कलम चलाउने एकजना साहित्यकारलाई हरेक वर्ष नगद राशी रू २१,१११।– सहित सम्मान गर्दै आएको छ ।

भैरव अर्याल स्मृति सम्मान २०६५ साल पोखराका हास्यव्यङ्ग्यकार चुडामणि खनाल, २०६६ मा गायत्री परिरोशनी स्याङ्जा, २०६७ मा चुडामणि रेग्मी झापा, २०६८ मा नरनाथ लुइँटेल काठमाडौं, २०६९ मा कृष्ण मुरारी गौतम (चट्याङ मास्टर) काठमाडौं, २०७० मा बासुदेव गुरागाई (पिँडालु पण्डित) मकवानपुर, २०७१ को सम्मानको रकम भूकम्प पीडितलाई प्रदान गरिएको, २०७२ मा मनोज गजुरेल काठमाडौं, २०७३ मा धुर्मुस–सुन्तली फाउन्डेसनलाई, २०७४ राजकुमार लामिछाने मकवानपुर, २०७५ माणिकरत्न शाक्य काठमाडौं, २०७६ मा गणेश लाठ वीरगन्ज र २०७७ हरिकला उप्रेती तेह्रथुमलाई प्रदान गरिएको छ ।

साहित्य संगम मकवानपुर र सिस्नुपानी नेपाल, मकवानपुर शाखाको संयुक्त भवन हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४, भैरवरोडमा रहेको र प्रत्येक महिनाको दोस्रो शनिबार उक्त भवनमा हास्यव्यङ्ग्य सम्बन्धी विविध रचनाहरू समेत प्रस्तुत हुने गरेको छ । यसरी सिस्नुपानी नेपाल, मकवानपुर शाखाले हास्यव्यङ्ग्य सिर्जनामा संलग्न प्रतिभाहरूलाई संगठित गर्ने, सिर्जना निरन्तर लागिरहन प्रेरित गर्ने, हास्यव्यङ्ग्यको माध्यमबाट स्वस्थ र शिष्ट मनोरञ्जन प्रदान गर्ने, सामाजिक, आर्थिक, राजनीतिक एवम् साँस्कृतिक विकृतिका विरूद्ध हास्यव्यङ्ग्यात्मक कार्यक्रमहरू प्रस्तुत गर्दै शुद्ध समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।

२०७९ बैशाख १९ गते अर्थात आज सिस्नुपानी दिवस परेको हुँदा दिनको ३ः३० बजे साहित्य संगम मकवानपुर र सिस्नुपानी नेपाल, मकवानपुर शाखाको संयुक्त भवनमा विविध हास्यव्यङ्ग्य सिर्जनाहरू प्रस्तुत गरी सिस्नुपानी दिवस मनाउन लागिएको हुँदा सबैलाई उपस्थितिका लागि हार्दिक अनुरोध छ । (अध्यक्ष, सिस्नुपानी नेपाल मकवानपुर) ।