हेटौंडाः मकवानपुरको बकैयामा लोडर दुर्घटना हुँदा ३ जना चिनियाँ नागरिकको मृत्यु भएको छ । दुर्घटनामा एक जना नेपालीसहित थप २ जना चिनियाँ नागरिक घाइते भएका छन् ।

सोमबार साँझ काठमाडौं–तराई दु्रतमार्ग (फास्ट ट्रयाक) निर्माणमा संलग्न लोडर दुर्घटना भएको हो । मकवानपुरको बकैया–११, घट्टेपाख र लेनडाँडा नजिक लोडर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए । गम्भीर घाइते भएका थप एक जनाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । घाइते ३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

द्रुतमार्गमा काम गरिरहेको लोडर दुर्घटना भएर सिमात खोल किनारमा खसेको प्रहरीले जानकारी दिएको छ । लोडरमा १ नेपालीसहित ५ जना चिनियाँ नागरिक रहेका थिए । जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरिरहेको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो । मृतक र घाइतेको पहिचान हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।