हेटौंडाः स्वतन्त्र पत्रकार संघ नेपालको राष्ट्रिय समितिले छ जना पत्रकारलाई एक साथ पुरस्कृत गर्ने भएको छ । संघको पुरस्कार छनौट समितिको सिफारिसमा पोखरामा सम्पन्न संघको बैठकले पोखराका भूपनिधि तिवारी, विराटनगरका मोहन भण्डारी, बाँकेका नमस्कार शाह, झापाका नरेन्द्र ढकाल, नवलपुरकी सविता तिवारी र दाङकी डिलाकुमारी चौधरीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । आगामी जेठमा हुने संघको राष्ट्रिय अधिवेशनमा पुरस्कार वितरण गरिने बताइएको छ ।

कोभिड–१९ का कारण २०७७ साल र २०७८ सालमा प्रदान गरिनुपर्ने पुरस्कार संयुक्त रुपमा वितरण गर्ने गरी निर्णय गरिएको हो । सामाजिक पत्रकारिता पुरस्कार–२०७७ पोखराका भूपनिधि तिवारीलाई र सामाजिक पत्रकारिता पुरस्कार–२०७८ विराटनगरका मोहन भण्डारीलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ । उक्त पुरस्कारका लागि पोखराका समाजसेवी एवम् प्रजातन्त्र सेनानी लिलाभक्त आचार्यले पाँच लाखको अक्षयकोष समेत राखी स्थापना गरिदिनु भएको हो ।

यसैगरी चन्द्रकान्त पौडेल उर्फ गोरखापत्र बाजे स्मृति क्रियाशील पत्रकारिता पुरस्कार–२०७७ बाँकेका नमस्कार शाहलाई र गोरखापत्र बाजे स्मृति क्रियाशील पत्रकारिता पुरस्कार–२०७८ झापाका नरेन्द्र ढकाललाई प्रदान गरिने भएको छ । पुरस्कारको राशी ११ हजार रुपैयाँ रहेको छ । यसैगरी स्वतन्त्र पत्रकार महिला सम्मान २०७७ र २०७८ क्रमशः नवलपुरकी सविता तिवारी र दाङकी डिलाकुमारी चौधरीलाई प्रदान गरिने भएको पुरस्कार छनौट समितिका सदस्य एवम् राष्ट्रिय सल्लाहकार शान्ति राणाले बताउनु भयो । उहाँका अनुसार उक्त पुरस्कारको राशी ११ हजार रुपैयाँ रहेको छ ।

स्वतन्त्र पत्रकार संघ नेपाल प्रतिभा चयन समितिका संयोजक वरिष्ठ पत्रकार नारायण कार्कीको संयोजकत्वमा बसेको बैठकले गरेको सिफारिस अनुसार संघले उक्त निर्णय गरेको हो । ३ सदस्यीय समितिको सदस्यमा संघका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोला र राष्ट्रिय सल्लाहकार शान्ति राणा रहनुभएको थियो । पुरस्कार छनौट समितिको बैठकमा राष्ट्रिय सल्लाहकार नवराज पहाडी आमन्त्रित सदस्यको रुपमा सहभागी हुनुहुन्थ्यो ।

स्वतन्त्र पत्रकार संघ नेपालबाट सञ्चालित सामाजिक पत्रकारिता पुरस्कारबाट यसअघि भक्तपुरको दधिकोटका वरिष्ठ पत्रकार ९३ बर्षीय भैरव रिसाल सम्मानित हुनु भएको छ । गोरखापत्र बाजे स्मृति युवा प्रोत्साहन स्वतन्त्र पत्रकारिता पुरस्कार पहिलो पटक वितरण गर्न लागिएको हो । स्वतन्त्र पत्रकार महिला पुरस्कारबाट यसअघि दुर्गा अधिकारी (कास्की), शिला गुरुङ (पर्वत), शान्ति राणा (कास्की), रविना आले (तनहुँ), सीता दर्नाल (रुपन्देही) र ईश्वरी न्यौपाने (स्याङ्जा) सम्मानित हुनु भएको छ ।