निरञ्जन दाहाल ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडा अध्यक्षको स्वतन्त्र उम्मेदवार निरञ्जन प्रसाद दाहालले चुनाव चिन्ह कैंची पाउनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले दाहाललाई कैंची चुनाव चिन्ह दिएको हो ।

नेपाली कांग्रेसको सक्रिय राजनीति गर्नुभएका दाहाल पछिल्लो ५ बर्ष पार्टीकै उम्मेदवारले वडा अध्यक्ष जितेको भए पनि वडामा पार्टीसँगको सम्बन्ध रहन नसकेको उल्लेख गर्नुहुँदै स्वतन्त्र उम्मेदवारी दिएको बताउनुहुन्छ । नेपाली कांग्रेसको १२ औं महाधिवेशन प्रतिनिधि रहनुभएका दाहाल नेपाल तरुण दल मकवानपुर जिल्ला समितिको पूर्व सचिव समेत हुनुहुन्छ । अहिले पनि तरुण दल मकवानपुरको प्रमुख सल्लाहकार रहनुभएका दाहालले आफू सामाजिक काममा निरन्तर सक्रिय रहेकोले वडा अध्यक्षमा विजयी हुने दावी गर्नुहुन्छ ।

‘२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसकै उम्मेदवारले वडा अध्यक्ष जितेर पनि निर्वाचित वडा अध्यक्ष र पार्टीको वडा समितिले पनि कुनै किसिमको सहकार्य र समन्वय गरेन । आसन्न निर्वाचनका लागि उम्मेदवार छनोटको प्रक्रियामा पनि पार्टीले कुनै सल्लाह, समन्वय गरेन’, दाहालले भन्नुभयो, ‘निरन्तर सामाजिक काममा हिँडेको छु । समुदायको दुख, सुखमा सहभागी भएको छु । पार्टीले समन्वय नगरे पनि जनताले मलाई जिताउनेमा म विश्वस्त छु ।’