हेटौंडाः कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम रहने आशंकामा विदेशबाट आएका मकवानपुरका २ सय ५३ जना निगरानीमा छन् । जिल्ला समन्वय समितिको समन्वयमा तथ्यांक संकलनको कार्य भइरहेको छ । आज साँझसम्ममा मकवानपुर जिल्लाका दस वटै स्थानीय तहको छुट्टाछुट्टै तथ्यांक संकलन गरिएको छ ।
जिल्ला समन्वय समिति मकवानपुरका अधिकृत भीमलाल महर्जनका अनुसार विदेशबाट आएका सबैलाई स्थानीय तहको स्वास्थ्य संयोजक तथा स्वास्थ्यकर्मीको निगरानीमा होम क्वारेन्टाइनमा रहेका छन् । मकवानपुर जिल्लामा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकामा १ सय २२ जनाको तथ्यांक पाइएको अधिकृत महर्जनले बताउनुभयो । स्थानीय जनप्रतिनिधि र स्थानीय सर्वसाधारणको सूचनाका आधारमा विदेशबाट आएका जिल्लावासीको तथ्यांक संकलनको कार्य भइरहेको छ ।
मनहरी गाउँपालिकामा ४२ जना, थाहा नगरपालिकामा ३६ जना, इन्द्रसरोवर गाउँपालिकामा १६ जना, भीमफेदी गाउँपालिकामा १२ जना, बागमती गाउँपालिकामा ११ जना, मकवानपुरगढी र कैलाश गाउँपालिकामा ५/५ जना, बकैया गाउँपालिकामा ३ जना र राक्सिराङ गाउँपालिकामा १ जना विदेशबाट आएका नागरिकको पहिचान भएको छ ।