हेटौंडाः संघीय गणतन्त्रात्मक मुलुकको स्थानीय सरकारको पहिलो कार्यकाल करिब ३ सातामा पूरा हुँदैछ । दोस्रो कार्यकालका लागि जनप्रतिनिधि चयन गर्न निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअन्तर्गत उम्मेदवारी दर्ता गर्ने कार्य सोमबार सकिएको छ । आइतबार र सोमबार दुईदिनका लागि तय गरिएको उम्मेदवारी दर्ता गर्ने कार्यक्रममा जनप्रतिनिधि बन्न उत्साहका साथ उम्मेदवारी दर्ता भएको छ ।

पालिकास्तरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलका उम्मेदवारहरु बाजागाजा, व्यानर, जुलुस, नारा, पार्टीको झण्डा लिएर पुगेका थिए । राजनीतिक दलबीच रणनीतिक रुपमा उम्मेदवारी दर्ताको प्रयास भएको पाइएको छ भने स्वतन्त्र उम्मेदवार र पार्टीबाट टिकट नपाएकाहरुले स्वतन्त्ररुपमा पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले आइतबार र सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरेको भए पनि हेटौंडा उपमहानगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा सोमबार अबेर रातीसम्म उम्मेदवारी दर्ताको कार्य जारी थियो । निर्वाचनलाई राजनीतिक दलले आफ्नोतर्फबाट उम्मेदवार हुने अवसरको सदुपयोेग गर्ने प्रयास भइरहेको छ ।

निर्वाचन अधिकृतको कार्यालयले पनि कार्यालय परिसरमा आइपुगेका योग्य आकांक्षीलाई उम्मेदवार हुने अवसर दिएको छ । आवधिक निर्वाचनको सुश्चितता र निरन्तरताको अभावमा सिंगो प्रजात्रान्तिक प्रणालीमा विश्वस्त हुन नसकेका, निराश आम नागरिकबाट आफुलाई अनुमोदित गरी जनताको सेवामा समर्पित हुने आकांक्षा आशा गर्ने विषय बन्न सक्छ । उम्मेदवारहरुको भीडबाट यही बैशाख ३० गते नागरिकले आआफ्ना आशाका केन्द्रलाई चुन्नेछ ।