बालश्रमसम्बन्धी सांकेतिक तस्वीर । स्रोतः गुगल ।

हेटौंडाः राष्ट्रिय कार्य तथा समन्वय समूहको संयोजन र वल्र्ड भिजन ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा राष्ट्रिय बाल संरक्षण सञ्जालको आयोजनामा बालश्रम अन्त्यका लागि प्रदेशस्तरीय संवाद कार्यशाला भएको छ ।

राष्ट्रिय बाल संरक्षण सञ्जाल नेपालका अध्यक्ष प्रकाश खतिवडाको सभाध्यक्षतामा भर्चुअल माध्यमबाट सोमबार भएको कार्यक्रममा राष्ट्रिय कार्य तथा समन्वय समूहका सह–संयोजक किरण थापा, राष्ट्रिय नेटवर्कका अध्यक्षहरु, वल्र्ड भिजनका भरत तामाङ, आईएलओका नारायण भट्टराईको सहभागिता रहेको थियो । कार्यक्रममा बालअधिकार अभियन्ता एवम् राष्ट्रिय बाल संरक्षण सञ्जाल नेपालको निवर्तमान अध्यक्ष ऋतुु भट्टराईले कार्यपत्र पेश गर्नु भएको थियो । बालश्रम सम्बन्धी पाँचौं विश्वव्यापी सम्मेलन यहि मे १५ देखि २० तारेखसम्म दक्षिण अफ्रिकाको डर्बनमा आयोजना हुन गइरहेको सन्दर्भमा नेपालबाट पनि बालश्रम र बालबालिकामाथि हुने हिंसाका विषयमा नागरिक समाजसँग समीक्षा गर्दै प्रदेशस्तरमा बालश्रमको अवस्था र प्रदेशस्तरको परामर्शबाट जानकारीहरु, सल्लाह, सुझावहरु लिने उद्देश्यले कार्यशाला आयोजना गरिएको राष्ट्रिय बाल संरक्षण सञ्जाल नेपालका अध्यक्ष प्रकाश खतिवडले जानकारी दिनुभयो ।

कार्यक्रममा सह–संयोजक किरण थापाले बालश्रम बिरुद्धको पाँचौं विश्व सम्मेलनमा नेपालबाट दक्षिण अफ्रिकाको डर्बानमा सहभागी हुन जानु हुने नेपाल सरकारको प्रतिनिधिलाई बालश्रमको अवस्था, कानुनी व्यवस्था र कार्यान्वयनको अवस्थाका बारेमा जानकारी गराउँदै बालश्रम अन्त्यका लागि प्रतिबद्ध हुन नेपाल सरकारलाई जानकारी गराउन प्रदेशको अवस्था विश्लेषण गर्न सकेकोमा कार्यक्रम उपलब्धीमुलक भएको बताउनु भएको थियो । कार्यक्रममा वल्र्ड भिजनका भरत तामाङले बाल संरक्षणमा भावी योजना र अबको कार्यदिशाको बारेमा स्पष्ट पार्नु हुँदै बालश्रमको अन्त्यको क्षेत्रमा कार्य गर्ने प्राथमिकीकरणको बारेमा बताउनु भएको थियो ।

कार्यपत्र प्रस्तोता ऋतुु भट्टराईले बालश्रम बिरुद्धको पाँचौं विश्व सम्मेलन, नेपालमा बालश्रमको अवस्था, नेपालको नीतिगत र कानुनी प्रतिबद्धता, बालश्रमको न्युनीकरणमा नेपालको उपलब्धी, मुख्य सरोकारहरु र सुझाव दिनु भएको थियो । उहाँले सार्वजनिक शिक्षाको सुधार, टिकाउ दर तथा प्राविधिक शिक्षाको बिस्तार, एकीकृत बालअधिकार तथा बालसंरक्षण प्रणालीको बिस्तार, सवलीकरण र परिचालन, समयसापेक्ष कानुनी व्यवस्थाको निर्माण र कार्यान्वयन बालश्रम निषेध र नियमित गर्ने ऐनको संशोधन, बालबालिकासम्बन्धी नियमावली, राष्ट्रिय नीति, कार्ययोजना र मार्गदर्शनको निर्माणमा जोड दिनु भएको थियो ।