विश्वकै महामारी कोरोना यतिबेला केही मथ्थर भएको छ । महामारीको प्रभाव कम हुँदै गएपछि मानिसहरुको बानी व्यवहार फेरि पुरानै अवस्थामा फर्किएको छ । अझ कोरोनाविरुद्धको खोपले गर्दा डर पनि कम हुँदै गएको छ । तर यसैगरी व्यवहारमा सतर्कता नअपनाउने हो भने महामारीको अर्को लहर आउन सक्ने लक्षणहरु देखिएका छन् । विश्वका कतिपय देशहरुमा महामारी बढ्दै गएका तथ्यांकहरु आएका छन् । कोरोनाविरुद्धको खोपले महामारी नै नलाग्ने होइन । जोखिममात्र कम गर्ने भएकाले होशियारी अपनाउन विश्व स्वास्थ्य संगठनले भन्दै आएको छ । छिमेकी मुलुक भारतमा समेत यसका लक्षणहरु देखिएका छन् । निकै कम भइसकेको महामारीको प्रभाव बढ्दै गएकोमा त्यहाँको सरकारले सचेत गराइरहेको छ ।

भारतमा महामारीको दोस्रो लहरको मुख्य कारण निर्वाचन बनेको थियो । धार्मिक भेलाबाट पहिलो लहर बढेको थियो भने निर्वाचनका कारण दोस्रो लहर आएको दावी छ । त्यसको प्रभावले नेपाल चपेटामा परेको हो । आज पनि महामारीको दुष्प्रभावले नेपाली अर्थतन्त्र धराशायी बन्दै गएको छ । शासकले जतिसुकै लुकाउने प्रयास गरे पनि नेपाली अर्थतन्त्र यतिबेला निकै संकटको अवस्थाबाट गुज्रिएको यथार्थ हो । कांग्रेसको घोषणापत्रले समेत यो यथार्थलाई स्वीकार गरेको छ । देशको अर्थतन्त्र यति कमजोर हुनुमा पूर्ववर्ती सरकारलाई दोष दिएको छ । जसले गर्दा अहिले अर्थव्यवस्था कमजोर छ भन्ने स्वीकारोक्ति हो । यस्तो हुनुमा पहिलो हात महामारीले दुई बर्षसम्म पारेको प्रभाव नै हो ।

नेपालमा कोरोना महामारी यतिबेला कमजोर छ । कोरोनाविरुद्धको खोप निकै प्रभावकारी भएको छ । सरकाले सबै नागरिकलाई खोप लगाउन आह्वान गरिरहेको छ । चैत्र मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने लक्ष्य पूरा नभए पनि खोपको व्यवस्थापन भएको छ । तर नागरिक नै खोप लगाउन उत्सुक छैनन् । खोपको प्रभावकारितामा शंका छैन । तर यसकै मात्र भर परेर सतर्कता नअपनाउने हो भने कुनै पनि समय महामारी फैलने खतरा छ । त्यसमाथि स्थानीय तहको निर्वाचन सुरु भएको छ । दलहरुले प्रचारप्रसारलाई तिव्रता दिन थालेका छन् । धेरै भन्दा धेरै नागरिक भेला गर्ने र विपक्षीलाई शक्ति देखाउने होड निर्वाचनमा हुने गर्दछ । तर यही भिड महामारीको कारक बन्ने खतरातर्फ ध्यान दिन आवश्यक छ ।

निर्वाचनमा सहभागी हुनु प्रजातान्त्रिक अभ्यास हो । यसमा कुनै प्रकारको बन्देज स्वीकार्य हँुदैन । तर स्वास्थ्य जोखिमप्रति आँखा चिम्लिएर बिना सावधानी भिडभाड गर्ने, ठूलो हुलका साथ घरदैलो गर्ने गर्दा महामारी चैत्रमासको डढेलोजस्तो बढ्न सक्छ । तर कुनै पनि दलले यतातर्फ ध्यान दिएका छैनन् । कार्यकर्ताहरुलाई मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गराउनु आवश्यक छ । यस्तै आपसको दुरी कायम गरी सुरक्षित भएमात्र मतदान गर्न सकिन्छ । नत्र लामो समय प्रचारमा हिँडेकाहरु नै मतदानका दिनसम्म स्वस्थ नहुने खतरा छ । निर्वाचनलाई राजनीतिकरुपमा पद प्राप्तीको माध्यममात्र नबनाई सामाजिक सुरक्षाको प्रचार अभियानका रुपमा विकास गर्नु पर्दछ ।