विष्णुगोपाल महर्जन ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको २ नम्बर वडामा नेपाली कांग्रेसबाट विष्णुगोपाल महर्जनले उम्मेदवारी दर्ता गराउनुभएको छ । सोमबार बिहान महर्जनले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

सामाजिक तथा व्यावसायिक संघ, संस्थामा आवद्ध महर्जन हेटौंडा उपमहानगरपालिकाबाटै सेवानिवृत्त इन्जिनियर समेत हुनुहुन्छ । उम्मेदवारी दर्तापछि महर्जनले वडा अध्यक्षमा विजयी भएर वडालाई नमूना वडाको रुपमा विकास गर्ने योजना रहेको बताउनुभयो । पार्टीभित्र धेरै आकांक्षी भए पनि पार्टीले विश्वास गरेको बताउनुहुँदै पार्टी र जनता दुबैको मन जित्ने गरी काम गर्ने महर्जनको भनाइ छ ।